हिसाब पारदर्शीतापूर्वक सार्वजनिक हुनु पर्दछ

हिसाब पारदर्शीतापूर्वक सार्वजनिक हुनु पर्दछ

bimbonline विमल शर्मा
२०७९ साउन २४ १३:१९ बजे
विमल शर्मा

 विमल शर्मा , मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले मूलतः भारतस्थित नेपालीहरुलाई संगठित गर्ने, उनीहरुलाई सहयोग गर्ने र नेपालमा जनवादी क्रान्ति सम्पन्न गर्नका लागि चेतनाको अभिबृद्धि गर्ने काम गर्दछ । त्यो संगठनले नेपाल कम्युनिष्ट पार्टी मसाल, राष्ट्रिय जनमोर्चाको नीतिलाई अवलम्बन गर्दछ । मसालको नीति, निर्देशन अनुसार नै काम गर्दछ । मसालको आठौ महाधिवेशनमा राजनीति, संगठनात्मक, कार्यप्रणालीगत विषयमा एकमत हुन सकेन र दुई अलग-अलग दस्तावेजहरु प्रस्तुत भए । एउटा केन्द्रीय समितिको बहुमतको प्रस्ताव र अर्को अल्पमतको प्रस्ताव । बहुमतको प्रस्तावले दक्षिणपन्थी दिशा समातेकोले अल्पमतले अर्को प्रस्ताव प्रस्तुत गरेको थियो । पार्टीभित्र हुने आर्थिक हिनामिनाबारे पार्टीमा प्रश्नहरु उठ्ने वा प्रस्ताव प्रस्तुत हुने गरेका छन् । तर ती प्रस्तावहरुबारे उचित छानवीन वा निर्णय हुने गरेन ।

पार्टीभित्र चलेको दुई लाइनको सङ्घर्षमा मूल प्रवाहका सदस्य पनि विभाजित भए । अल्पमतले बहुमतको दक्षिणपन्थी नीतिको विरोध गर्दछ भने बहुमत पक्षले दक्षिणपन्थी नीतिको विरोध गर्ने सदस्यलाई निराधार विभिन्न आरोप लगाउने, कारवाही गर्ने, घटुवा गर्ने, निष्कासन गर्ने, दुश्मनका एजेन्ट, घुसपैठिया, रअद्वारा सञ्चालित, फुटपरस्त आदि आक्षेप लगाउने गरेको छ । यहाँ स्मरण रहोस्, मसालका महामन्त्री मोहनविक्रम सिंहले “युगदर्शन अनलाइन”लाई अन्तरवार्ता दिँदै उनलाई दक्षिणपन्थी बताउनेहरु “दुश्मनका एजेण्ट”, “घुसपैठिया” भएको अन्तरवार्तामा बताएको समाचार स्वयं युगदर्शन अनलाइनमा प्रकाशित भएको छ । अल्पमतको प्रस्तावलाई समर्थन गर्ने सदस्यलाई बहुमत पक्षले विभिन्न तथ्यहीन आरोप लगाउँदै निष्कासन गरेपछि नेपालभित्र मसालमा विभाजन भएजस्तै भारतमा पनि मूल प्रवाहमा विभाजन भयो । मूल प्रवाहको एउटा पक्षको नेतृत्व देवबहादुर लामिछानेको छ भने अर्को पक्षको नेतृत्व ठाकुर खनालले गर्दछन् ।

मसाल वा मूल प्रवाहमा विभाजन हुनुभन्दा पहिलेदेखि नै भारतबाट उपचार कोष, विपद् व्यवस्थापन कोष वा कुनै व्यक्ति गम्भीर बिरामी परेमा सहयोग गर्नकोलागि ति कोषहरुमा र पार्टीको घर खरिदका लागि आर्थिक सङ्कलन गरेर नेपाल पठाउने गरिएको थियो । त्यसरी जनताबाट सङ्कलन गरिएको रकमको सही प्रकारले सदुपयोग हुनुपर्दछ । त्यसमा भ्रष्टाचार वा एउटा विषयका लागि उठाइएको रकम अन्यत्र खर्च गर्न मिल्दैन । मसालभित्र विगत केही वर्षदेखि भ्रष्टाचार भएको, विभिन्न शीर्षकमा उठाइएका रकमको सदुपयोग नभएको, एउटा शीर्षकको रकम अन्यत्र खर्च गरेको, हिसाब–किताब पारदर्शी नभएकोबारे पटक पटक विभिन्न प्रश्न उठ्ने गरेका छन् । हिसाब किताब पारदर्शीतापूर्वक सार्वजनिक गर्न माग हुने गरेको छ । पार्टीको आठौ“ महाधिवेशनमा आर्थिक हिनामिनाबारे प्रस्ताव नै दर्ता भएको थियो जसलाई महाधिवेशनमा प्रस्तुत गर्न नै दिइएको थिएन । राष्ट्रिय जनमोर्चाका पूर्व कोषाध्यक्ष ओमबहादुर केसीले पार्टीभित्र आर्थिक हिनामिना भएकोबारे विस्तृत विवरण सहित पत्र पठाएकोले उनलाई पार्टीबाटै निष्कासन गरिएको छ । मसालद्वारा प्रकाशित फोरमको दोस्रो अंकमा उनको एउटा लेख प्रकाशित भएको छ । हाँक साप्ताहिकका पत्रकारसंगको अन्तरवार्ता र लेखमा उनलाई किन कारवाही गरिएको थियो ? भन्ने वारे स्पष्ट गर्दै पार्टीभित्र हुने आर्थिक भ्रष्टाचार वा हिनामिना बारे केही तथ्य प्रस्तुत गरेका छन् । तिनीहरुबारे कुनै छानवीन भएर तथ्यहरु बाहिर आएका छैनन् ।

भारतमा भएका नेपालीहरु बिच कामगर्ने संगठन मूल प्रवाहले नेपालको कम्युनिष्ट आन्दोलनलाई विभिन्न तरिकाले सहयोग गर्दछ । भारतमा मजदुरी गर्ने नेपाली मजदुरहरुबाट ठुलो धनराशी सहयोग हुने गर्दछ । स्वयं भारतमा रहेका पीडित नेपालीहरुलाई पनि ठुलो मात्रामा आर्थिक, भौतिक तथा नैतिक सहयोग गर्दछ । हैदराबादमा रहेकी एकजना महिलाको मृगौलाको उपचारको लागि संगठनले सहयोग उठाएर उनलाई सहयोग गरेको थियो । त्यसै सन्दर्भमा अहिले मूल प्रवाहको ठाकुर खनालले नेतृत्व गरेको संगठनले २०७९ साउन २० गते एउटा वक्तव्य सार्वजनिक गरेको छ । त्यो वक्तव्यमा – “हैदरावादको एक जना साथीकी पत्नीको मृगौलाको उपचारका लागि केन्द्रीय कार्यालयको सहमतिमा मध्येदक्षिण क्षेत्रीय समितिको निर्णयानुसार सहयोगको अपिल गरेर केही रकम जम्मा गरिएको- रूपिया“ बिरामी महिला र उनका पतिलाई हस्तान्तरण गर्नुभएको जनताले जुन उद्देश्यका लागि सहयोग गरेका थिए, त्यो रकम त्यही उद्देश्यका लागि सदुपयोग भयो कि भएन ? त्यसको हिसाब माग्ने र सोध्ने अधिकार हुन्छ” भनेर मृगौला पीडितलाई गरिएको सहयोग रकमको हिसाब विवरण सार्वजनिक रुपमा वक्तव्य मार्फत माग गरिएको छ । कसैलाई गरिएको सहयोगको दुरूपयोग भयो कि भनेर हिसाब खोज्नुलाई गलत भन्न मिल्दैन । अहिले मृगौला पीडितलाई गरिएको सहयोग रकमबारे “त्यसको हिसाब माग्ने र सोध्ने अधिकारी हुन्छ” भनिए झै भवन खरिद, भूकम्प पीडितलाई सहयोगका लागि उठाइएको सहयोग र विभिन्न व्यक्तिहरुलाई उपचारको नाममा उठाएको सहयोग रकम बारे पनि हिसाब माग्ने र सोध्ने अधिकार सबैलाई हुन्छ । त्यसरी उठाइएको रकमको विवरण सार्वजनिक होस् ।

कुनै नागरिक विरामी परेमा उपचार गर्ने दायित्व राज्यको हुनुपर्ने हो । हाम्रो देशमा त्यो कुरा धेरै टाढाको विषय भएको छ । सत्तामा रहेका र त्यसको वरिपरि घुम्नेहरुलाई त्यस्ता सुविधा छन् । अन्य जनता बिरामी परेपछि  आफ्नो  क्षमताले भ्याएसम्म  आफ्नै बलबुतामा उपचार गर्ने हो । आफै उपचार गर्न नसक्ने परिस्थितिमा नातागोता, इष्टमित्र, संगठनको सहयोग वा ऋण सापटी गरेर भएपनि उपचार गर्ने गरिन्छ । कुनै व्यक्तिले पनि बिरामी व्यक्तिकोे मृत्यु होस् भन्ने चाह“दैन । संगठनका साथी, इष्टमित्र, नातागोताले सहयोग उठाएर सकेसम्म बिरामीलाई सहयोग गरिन्छ । हैदराबादकी मृगौला पीडित महिलाका पति सूर्यबहादुर पुनले २०२२ जुलाई ३० गते आफ्ना बारेमा उठेका विषयमा लेखिएका छन्, “कथित मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको मध्ये दक्षिण क्षेत्रीय समितिको क्षेत्रीय सम्मेलनमा समाजका केन्द्रीय उपाध्यक्ष प्रेम पौडेलले मेरो श्रीमतीको उपचार खर्च सहयोग सङ्कलन सम्बन्धमा अत्यन्त अमानवीय, असंवेदनशील र झुठा आरोपहरु उठाउनु भएकोप्रति मेरो ध्यान आकर्षित भएको छ । त्यस सम्बन्धमा हाम्रो संगठन मूल प्रवाह अखिल भारत नेपाली एकता समाजमध्ये दक्षिण भारत क्षेत्रीय कार्यालयबाट वक्तव्य जारी भएको छ । मेरो विषयमा कुरा उठेपछि तथ्य र वास्तविकता के हो भन्ने विषयमा मेरोतर्फबाट स्पष्ट पार्नु पर्ने भएकाले यो स्पष्टकिरण प्रस्तुत गर्दछु । अहिले मेरी श्रीमती नेपालमै डाक्टरको सल्लाह अनुसार चेक गर्ने र महङ्गो दवाई चलिरहेको छ । ट्रान्सप्लान्ट गर्ने स्थिति नभएपछि डाक्टरको सल्लाह अनुसार दवार्ईबाट कन्ट्रोल गर्न सकिन्छ कि भनेर दवाई दिने काम निरन्तर चलिरहेको छ । मैले के स्पष्ट गर्न चाहन्छु भने १७\७\२०२२ का दिन कथित मूलप्रवाह अखिल भारत नेपाली एकता समाज केन्द्रीय समितिका उपाध्यक्ष प्रेम पौडेलले मेरो बारेमा जुन झुठा र फजुल आरोप लगाउनु भएको छ, त्यसले मलाई धेरै दुःखी बनाएको छ । मैले घर घडेरी किन्नका लागि श्रीमती बिरामी भएको बहाना गरेको भन्ने भनाइ र मलाई सार्वजनिक रूपमा घिसार्ने कुरा गर्नु भएछ । मलाई थाह छ, मलाई राजनैतिक प्रतिशोधको कोणबाट मेरो व्यक्तिगत चरित्र हत्या गर्नु भएको छ । यदि म उहा“को कथित मूल प्रवाहमा बसिरहेको हुन्थें भने मैले गलत काम गरे पनि बोल्नु हुने थिएन । म फरक विचारका आधारमा पुनर्गठित मूल प्रवाह अखिल भारत नेपाली एकता समाजमा आबद्ध भएको हुनाले यहा“सम्म निकृष्ट, संवेदनविहीन र अमानवीय प्रकारका लाञ्छना लगाउनु भयो । मैले के स्पष्ट गर्न चाहान्छु भने प्रेम पौडेल सँग  सम्बन्धित संगठनले उनले दिएको वा उपचारको लागि मिलेको सहयोग सबै विवरण बारेमा सम्बन्धित कमिटि र आयोजक समितिलाई मस“ग बसेर हिसाब हेर्ने र छानवीन गरी सत्यतथ्य बाहिर ल्याउन अनुरोध गर्दछु । अन्यथा झुटा आरोप लगाउने व्यक्तिलाई कार्वाही गर्नका लागि कथित मूलप्रवाहको नेतृत्वसित हार्दिक अनुरोध गर्दछु” ।  

खनालको वक्तव्यमा आफ्ना उपाध्यक्षले सार्वजनिक रुपमा गरेको गालिगलौज बारे केही उल्लेख गरिएको छैन यसरी उनले गरेका गलत विषयहरुलाई पनि संरक्षण गरिएको छ । आफ्ना उपाध्यक्ष प्रेम पौडेलले सार्वजनिक रूपमा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी नै उपस्थित रहेको हैदरावादको कार्यक्रमको मञ्चबाटै “मृगौला पीडितलाई दिएको सहयोग अनुदान सम्पूर्ण रकम फिर्ता नगरे आफूले घिसार्ने कडा कारवाही गर्ने ,एक्लै पक्डने र समातेर नाङ्गै बनाएर बेइज्जत गर्ने” भनेर अत्यन्त निम्नस्तरको भाषण गर्नुले उनीहरुको नेतृत्वको चरित्र कसरी निर्माण भएको छ त्यसलाई प्रस्ट पार्दछ ।

भारतमा रहेका जनताले एउटा मृगौला पिडित महिलालाई मात्र सहयोग गरेका छैनन् । उनीहरुले अन्य नेता वा कार्यकर्तालाई के के शीर्षकमा सहयोग गरेका छन् त्यसबारे पनि जनता स्पष्ट हुन चाहन्छन् । देश दुनिया बाट भवन निर्माण, भैलो, निर्वाचन, भूकम्प पीडितलाई सहयोग मागिएको रकम, देश भित्रका मृगौला पीडितलाई सहयोग भनेर जम्मा गरेको रकम साथै विभिन्न समयमा विभिन्न व्यक्तिलाइ उपचार गर्न उठाइएको रकम सदुपयोग भयो वा दुरूपयोग ? त्यसरी उठाएका रकमबारे जनतालाई जान्ने अधिकार हुन्छ कि हुँदैन ? त्यसको हिसाब सार्वजनिक हुनु पर्दछ वा पर्दैन ? त्यसबारे जनताले जान्ने अधिकार राख्दछन् । 

एकता समाजका अध्यक्षले हैदराबाद (भारतको) एकजना मृगौला पिडित महिलाको उपचारमा गरिएको सहयोग रकमको सत्यतथ्य सार्वजनिक गर्न माग गर्ने तर त्यो भन्दा धेरै ठूलो रकम जो भारतमा रहेका नेपाली मजदुरहरुले संकलन गरेर पठाएका छन् तिनीहरुबारे आजसम्म केही नबोल्नुले अन्य ठूलो रकम हिनामिना भएकोलाई ढाकछोप गर्न खोजिएको त छैन ? प्रश्न उठाउनका लागि ठाउ“छ । त्यसबारे आगामी दिनमा अरु स्पष्ट हुँदै जानेछ । जनतासित उठाइएको सहयोगहरुको विवरण सहित काठमाडौं  र बुटवलमा भवन निर्माण वा खरिद गर्ने भनेर उठाइएको रकम, भूकम्प पीडितको लागि देश विदेशबाट आएको रकम, बाढी पहिरोको लागि बर्सेनी उठाउने गरिएको रकम, पटक पटकका निर्वाचनमा पार्टीलाई सहयोग गर्न पठाइएको रकम सदुपयोग भएका छन् वा दुरुपयोग ? सार्वजनिक आवाज बारम्बार उठ्ने गरेको छ । ती सबै विषयहरु बारे कार्यकर्ता र जनतालाई जान्ने अधिकार छ ।  यहाँसम्म कि राजमो उपाध्यक्ष तथा प्रवक्ताले बारम्बार वक्तव्य सार्वजनिक गरेर एकएक रूपयाँ को विवरण राखिएको र छिट्टै सार्वजनिक गरिनेछ भनेर वक्तव्य दिएको पनि करिब ७ वर्ष भयो । काठमाडौंमा घर खरिद गरेको करिब १० वर्षको समय बितिसकेको छ । ९–१० वर्षसम्म त्यसरी सहयोग दाताहरुको नाम किन शिलालेखमा लेख्ने काम हुँदैन । त्यसबारे सहयोगदातालाई जान्ने अधिकार छ कि छैन ? बारम्बार बक्तव्यमा स्वीकार गरिएका विषय करिब एक दशकसम्म किन कार्यान्वयन भएका छैनन् ? त्यसबारे कहिल्यै पनि स्पष्ट जानाकारी गराउने काम भएन वा सार्वजनिक पनि गरिएन । आफुलाई कम्युनिष्ट बताउने नेतृत्वको नैतिकताले त्यस्ता काम गर्न छुट दिन्छ ? मसाल, राजमो वा मूलप्रवाहको    तर्फबाट  आफ्नो  कर्तुतलाई ढाक्न गरिएको षडयन्त्रका विरुद्ध कार्यकर्ता र जनताले हिसाब किताब गर्न पछि पर्नु हुँदैन । उपचार सहित सबै सार्वजनिक रुपमा उठाइएका रकमको पारदर्शितापूर्वक विवरण जनतालाई बुझाउनुपर्दछ ।

२०७९ साउन २४ १३:१९ बजे

प्रतिक्रिया