सानिमा मिडिल तमोर हाइड्रोपावरको आईपीओ आजदेखि खुला, क-कसले भर्न पाउँछन् ?

bimbonline बिम्ब अनलाइन
२०७९ माघ ४ ०९:५७ बजे
आईपीओ

 

 काठमाडौं । सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडले आज माघ ४ गते देखि आईपीओ निष्कासन तथा बिक्री खुला गरेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपी ओ बिक्री खुला गरेको हो । 

कम्पनीले जारी पूँजी ३ अर्ब ३३ करोड २५ लाख रुपैयाँको १० प्रतिशत अर्थात ३३ करोड ३२ लाख ५० हजार रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ दरका ३३ लाख ३२ हजार ५०० कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि खुला गरेको हो । जसमध्ये आयोजना अति प्रभावित क्षेत्र फुङलिङ नगरपालिका वडा नं। १, २, ९ र १०, फक्ताङलुङ गाउँपालिका वडा नं. १ तथा भिक्वाखोला गाउँपालिका वडा नं.१ र २, मेरिङदेन गाउँपालिका वडा नं. २ र ३, आठराई त्रिवेणी गाउँपालिका वडा नं. ५ तथा मैवाखोला गाउँपालिका वडा नं। १ मा बसोबास गर्ने स्थानिय बासिन्दाहरुका लागि ४० प्रतिशत अर्थात १३ लाख ३३ हजार कित्ता र आयोजना प्रभावित क्षेत्र ताप्लेजुङ्ग जिल्लाका बासिन्दाहरुका लागि ६० प्रतिशत अर्थात १९ लाख ९९ हजार ५०० कित्ता शेयर निष्काशन गरेको हो।

यसका साथै सर्वसाधारणमा निष्काशन हुने ४९ करोड ९८ लाख ७५ हजार रुपैयाँ बराबरको ४९ लाख ९८ हजार ७५० कित्ता साधारण शेयरमध्ये १० प्रतिशत अर्थात ४ लाख ९९ हजार ८७५ कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरूका लागि  खुला गरेको छ । 

न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सकिनेछ। आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्कासन बन्द छिटोमा माघ १८ गते हुनेछ भने ढिलोमा फागुन ४ गते हुनेछ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने माघ १८ गतेभित्र आवेदन दिनु पर्नेछ।

 आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ६.७३ वर्ष रहेको छ भने डिस्काउन्टमा लगानी फिर्ता हुने अवधि १३.३६ वर्ष रहेको छ। कम्पनीको विद्युत उत्पादन अनुमति २९ वर्ष ८ महिना बाँकी रहेको छ।

कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ। स्थानीय बासिन्दाले सानिमा मिडिल तमोर हाइड्रोपावरको कार्यालय, सानिमाबैंक, लक्ष्मी बैंक, ग्लोबल आइएमई बैंक र सनराइज बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। प्रति दरखास्त फारामबापत आवेदकले २ रुपैयाँ शुल्क बुझाउनु पर्नेछ।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्ने छन्।


२०७९ माघ ४ ०९:५७ बजे

प्रतिक्रिया