डा. रुइतलाई बहराइनद्धारा १३ करोडको पुरस्कार

bimbonline डम्मर धामी
२०७९ माघ ४ ०९:२७ बजे
डा. रुइत

काठमाडौं । वरिष्ठ नेत्र चिकित्सक सन्दुक रुइतले प्रतिष्ठित इसा अवार्ड  पाएका छन् । बहराइनका पूर्वराजा शेख इसा बिन सलमान अल खालिफाका नाममा स्थापित अवार्डबाट यस वर्ष डा. रुइतले पाउने भएका हुन् । 

बहराइनका राजा शेख हमद बिन इसा अल खालिफा ‘अनररी प्रेसिडेन्ट’ रहेको ‘इसा अवार्ड फर सर्भिस टु ह्युमानिटी’ संस्थाले सन् २०१३ देखि हरेक दुई वर्षमा मानव कल्याणको क्षेत्रमा क्रियाशील व्यक्तिरसंस्थालाई प्रदान गर्दै आएको छ । खाडी मुलुक बहराइनको राजधानी मनामामा मंगलबार आयोजित पुरस्कार घोषणा समारोहमा राजपरिवारका सदस्य शेख मो. बिन मुबारक अल खालिफाले अन्धोपन निवारणका लागि गरेको मानव कल्याणका लागि डा.रुइतलाई इसा अवार्डका लागि छनोट गरिएको  बताएका हुन् । 

डा. रुइतले मोतियाबिन्दुको उपचार गर्ने सरल विधि विकास गरेका थिए ।इसा अवार्ड पाउने डा. रुइत पाँचौं  व्यक्ति हुन् ।  यसअघि मलेसियाकी चिकित्सक जमिला महमुद (सन् २०१३), भारतका समाजसेवी तथा शिक्षाविद् अच्युत सामन्त (सन् २०१५), इजिप्टको बालबालिका क्यान्सर अस्पताल (सन् २०१७) र पाकिस्तानको इदी फाउन्डेसन (सन् २०१९) लाई यो अवार्ड प्रदान गरिएको थियो । कोभिडका कारण सन् २०२१ मा इसा अवार्ड घोषणा गरिएको थिएन । यो अवार्डअन्तर्गत डा. रुइतलाई आगामी फेब्रुअरीमा १० लाख डलर (झन्डै १३ करोड ८ लाख नेपाली रुपैयाँ), स्वर्ण पदक र प्रमाणपत्र प्रदान गरिनेछ । यो अहिलेसम्म कुनै पनि नेपालीले प्राप्त गरेको सम्भवतः सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय सम्मान हो ।

डा. रुइतले सन् २००६ मा रोमन म्यागसेसे पुरस्कार पाएका थिए । सन् २०१८ मा भारत सरकारले पद्मश्री सम्मानबाट उनलाई सम्मान गरेको थियो । उनले २०७२ मा भुटानको उच्च सम्मान ‘नेसनल अर्डर अफ मेरिट’ प्राप्त गरेका थिए । २०७५ सालमा नेपालमा प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार र २०७७ मा सुप्रसिद्ध प्रबल जनसेवा श्री (प्रथम) पदक पाएका थिए ।

डा. सन्दुक रुइतले सन् १९८० को दशकमा नेत्र चिकित्सकका रूपमा काम थालेका हुन् । त्यस बेला नेपालजस्ता देशमा मोतियाबिन्दुको शल्यक्रिया परम्परागत विधिबाट गरिन्थ्यो र शल्यक्रियापछि मोटो लेन्स भएको चस्मा दिइन्थ्यो । एक सर्वेक्षणले करिब ६ प्रतिशत अन्धोपन आँखाको मोतियाबिन्दुको शल्यक्रियाबाटै सिर्जित समस्याबाट हुने देखाएको थियो । त्यस्तो अवस्था देखेपछि शल्यक्रियालाई कसरी सरलीकृत गर्न सकिन्छ भनेर डा.रुइतले काम सुरु गरेका थिए । त्यसरी थालिएको प्रयास आज नेपालजस्तै विकासोन्मुख देशका अन्धोपन भएका नागरिकका लागि वरदान साबित भएको छ ।

२०७९ माघ ४ ०९:२७ बजे

प्रतिक्रिया