सर्वदलीय बैठकमा एमाले अध्यक्ष ओली र रमेश लेखकबीच चर्काचर्की

bimbonline बिम्ब अनलाइन
२०७९ माघ ३ १९:४९ बजे
सर्वदलीय बैठक

 काठमाडौं । बालुवाटारमा बसेको सर्वदलीय बैठकमा नेकपा एमालेकाअध्यक्ष केपी ओली र कांग्रेसका मुख्य सचेतक रमेश लेखकबीच भनाभन भएको छ । मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएको बैठकमा अध्यक्ष ओली र रमेश लेखकबीच चर्काचर्की भएको हो ।

उक्त बैठकमा अध्यक्ष ओलीले नेपाली कांग्रेसले सत्ता गठबन्धनभित्र चलखेल गर्न खोजेको आरोप लागाए । नेपाली कांग्रेसले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिनुको पछाडी केही के केही स्वार्थ रहेको अध्यक्ष ओलीको भनाइ थियो । बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारलाई विश्वासको मत दिइसकेपछि कांग्रेसले आफूलाई प्रतिपक्ष भन्न नपाउने बताएका थिए ।

‘ तलदेखि माथिसम्म सत्ता गठबन्धनमा कसरी जाने भन्ने हाम्रो सहमति भइसकेको छ । तर सबैतिर विश्वासको मत दिइरहनु भएको छ । सत्ताको लागि नखेल्नुहोस् । तपाईँहरू त प्रतिपक्ष पनि बन्न सक्नुभएन ।’, बैठकमा ओलीले भनेका थिए ।

त्यसपछि कांग्रेस नेता लेखकले अध्यक्ष ओलीलाई जवाफ फर्काए । उनले नेपाली कांग्रेस प्रतिपक्षी दल भएको स्पष्ट पारे । उनले नेपाली कांग्रेसले हालको सत्ता गठबन्धनभित्र कुनै पनि चलखेल नगरेको बताए । ‘राष्ट्रपतिलाई बुझाएको पत्रमा हाम्रो हस्ताक्षर छैन । त्यसैले हामी प्रतिपक्ष नै हौँ । हामीले कुनै चलखेल गरेका छैनौँ ।’, उनले भने । त्यसपछि अध्यक्ष ओली बैठकबाट बाहिरिएका थिए ।

बैठकमा नेपाली कांग्रेस, नेकपा (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी (राप्रपा), जनमत पार्टी, नेकपा (एकीकृत समाजवादी) सहित सरकारलाई विश्वासको मत दिने दलका नेताहरू सहभागी थिए ।

२०७९ माघ ३ १९:४९ बजे

प्रतिक्रिया