बुटवलको बेलबासमा बन्ने १६ शैयाको अक्सिजन सुविधासहितको स्वास्थ्य केन्द्रको शिलान्यास

bimbonline बाबुराम आचार्य
२०७९ पुष २६ १२:४६ बजे
शिलान्यास

बुटवल । बुटवलमा अक्सिजन सुविधा सहितको स्वास्थ्य केन्द्र बन्ने भएको छ । बुटवल उपमहानगरपालिका वडा नं १३ बेलबासमा १६ शैयाको अक्सिजन सुविधासहितको स्वास्थ्य केन्द्रको शिलान्यास गरिएको छ ।

बेलबासस्थित वडा कार्यालय परिसरमा बन्ने स्वास्थ्य केन्द्र भवनको बुटवल उप(महानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले उक्त भवनको  शिलान्यास गरेका हुन । भवनको शिलान्या  क्रममा पाण्डेले तिनाउ नदीदेखि पश्चिमको भेगको  विकास र सुविधाका लागि बेलबासमा स्वास्थ्य केन्द्र निर्माण गर्न लागिएको बताए ।

उनले यो स्वास्थ्य केन्द्रमा तिनाउ नदी पश्चिमका बासिन्दाले लाभ लिनसक्ने बताउँदै त्यसका लागि बुटवल उपमहानगरले सुविधा र जनशक्ति विस्तार गर्दै जाने बताए ।उनले भने,  ‘तिनाउ भन्दा पश्चिमको बुटवल र तिनाउ पूर्वको बुटवललाई समान हैसियतमा पुर्‍याउनुपर्ने छ’  ।

स्वास्थ्य केन्द्र भवनको निर्माण सम्पन्न भएपछि बुटवल उपमहानगरपालिकाले आवश्यक जनशक्ति र सुविधा उपलब्ध गराउने गरी तयारी गरेको बताए ।

निर्माण व्यवसायीले असार मसान्तभित्रै निर्माण सम्पन्न गर्ने विश्वास व्यक्त गर्दै नगर प्रमुख पाण्डेयले साउनदेखि अस्पतालका रुपमा सञ्चालन गर्ने बताए। 

बुटवल उपमहानगरपालिकाका जनस्वास्थ्य शाखा प्रमुख युवराज पाण्डेले एशियाली विकास बैंकमार्फत जापान सरकारको अनुदानमा १ करोड ५७ लाख लागत अस्पताल बन्ने बताए । 

स्वास्थ्य केन्द्रको भवन निर्माणका लागि गत मंसिर ९ मा टेन्डर स्वीकृत भएको  छ । निर्माण पक्षले असार मसान्तभित्रै निर्माण सम्पन्न गर्ने प्रतिबद्धता जनाएको जनस्वास्थ्य शाखा प्रमुख पाण्डेले बताए ।

स्वास्थ्य केन्द्रमा नर्स, प्यारामेडिक्ससहितका स्वास्थ्यकर्मीहरू रहने र सामान्य देखि अक्सिजन दिएर उपचार गर्नेसम्मका उपचार हुने  प्रमुख पाण्डेले बताए । ३ कठ्ठा जग्गामा बन्ने स्वास्थ्य केन्द्रको जनशक्ति तथा आवश्यक पूर्वाधार व्यवस्थापन बुटवल उपमहानगरले गर्नेछ।

बुटवल १३ का अध्यक्ष नारायण पुनले स्वास्थ्य केन्द्र निर्माणले तिनाउ नदी पश्चिमको भेगमा सहज सुविधा उपलब्ध हुने बताउँदै अस्पतालको विस्तार तथा क्षमता वृद्धिका लागि पनि आवश्यक जग्गा व्यवस्थापन गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

२०७९ पुष २६ १२:४६ बजे

प्रतिक्रिया