काठमाडौं । सङ्घीय संसद्का दुवै सदनको अधिवेशन आजदेखि शुरु हुने भएको छ । गत मङ्सिर ४ गते प्रतिनिधि सभा निर्वाचन सम्पन्न भएपछि नयाँ संसदको अधिवेशन आजबाट शुरु हुन लागेको हो ।
निर्वाचनको अन्तिम मतपरिणाम घोषणा भएको ३० दिनभित्र अधिवेशन प्रारम्भ भइसक्नुपर्ने संवैधानिक व्यवस्थाअनुसार पहिलो पटक अधिवेशन प्रारम्भ हुन लागेको हो। पहिलो बैठक ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराको अध्यक्षतामा बस्ने भएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको आह्वानअनुसार सोमबार दिउँसो १ बजे दुवै सदनको बैठक प्रारम्भ शुरु हुने छ । अधिवेशनको पहिलो बैठकमा राजनीतिक दलका शीर्ष नेताहरूले समेत सम्बोधन गर्ने छन् । बैठकका अन्य कार्यसूची यसअघि नै टुङ्गो लागिसकेका छन्।
अधिवेशनका बैठक यसअघिकै प्रतिनिधि सभाको नियमावलीअनुसार सञ्चालन हुनेछन्। पहिलो बैठकबाट प्रतिनिधि सभा नियमावली २०७५ लाई पुनः अनुमोदन गराइनेछ। यसअघि सर्वदलीय बैठकले अर्को व्यवस्था नभएसम्म पुरानै नियमावलीका आधारमा बैठक सञ्चालनको निर्णय गरेको थियो। उक्त नियमावली संशोधन गर्ने भन्ने दलभित्र समझदारी छ।
पहिलो बैठकमा अधिवेशन आह्वानका लागि राष्ट्रपति कार्यालयको पत्र वाचन गरिने छ। यस्तै प्रधानमन्त्री चयन र मन्त्रिपरिषद् गठनबारेको पत्र पनि संसद्मा जानकारी गराइनेछ। साथै शोक प्रस्तावको समेत कार्यसूची रहनेछ। संविधान सभा सदस्य बालकृष्ण ढुङ्गेल र झुलबहादुर आले तथा प्रतिनिधि सभा तथा राष्ट्रिय सभाका पूर्वसदस्य मैयादेवी श्रेष्ठको निधनमा शोक प्रस्ताव पारित हुनेछ।
अधिवेशनमा मङ्गलबार प्रतिनिधि सभामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिने कार्यसूची रहेको छ। प्रधानमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ। विश्वासको मत लिएपछि सभामुख र उपसभामुख चयनको प्रक्रिया अघि बढ्नेछ।
प्रतिक्रिया