कोरोनाका कारण ३ वर्ष ठप्प चीनको सीमा खुलेसँगै मानिसहरूको लाम र हर्ष्

bimbonline बिम्ब अनलाइन
२०७९ पुष २४ १९:४९ बजे
चीनको सीमा खुलेसँगै मानिसहरूको लाम

काठमाडौं । सन् २०२० को मार्च महिनामा पहिलो पटक सीमामा प्रतिबन्ध लगाएको चीनले अन्तर्राष्ट्रिय आगन्तुकहरूका लागि फेरि आफ्नो सिमाना खुला गरेको छ। त्यहाँ जाने यात्रुहरूले अब क्वारेन्टिनमा बस्नु नपर्ने बताइएको छ। देशमा कोरोनाभाइरस सङ्क्रमण दर बढिरहेको स्थितिमा कोभिड नीतिमा महत्त्वपूर्ण परिवर्तन गरिएको हो।

यद्यपि, उनीहरूले यात्रा गर्नुअघि ४८ घण्टाभित्र गरिएको पीसीआर परीक्षणको नतिजा नेगेटिभ आएको प्रमाण चाहिन्छ। राज्यको यस कदमलाई धेरैले परिवारसँग पुनर्मिलनको अवसरका रूपमा स्वागत गरेका छन्। हङकङमा ४००,००० मानिसहरू आगामी साताहरूमा मुख्य भूमि चीनमा यात्रा गर्ने अपेक्षा गरिएको छ। बेइजिङ र सियामेनलगायत सहरहरूतर्फ उडान भर्नका लागि मानिसको लामा लाइनहरू हुने ठानिएको छ।

एक जना महिलाले आफूले वर्षौँदेखि आमाबाबुलाई (उनीहरूमध्ये एक कोलन क्यान्सर पीडित हुनुका बाबजुद) नभेटेको समाचार एजेन्सी रोयटर्सलाई सुनाइन्। र, अहिले आफू 'निकै खुसी' भएको बताइन्। चन्द्र नयाँ वर्ष ूचुन युनूको सुरुवातसँगै चीनले देश पुनः खुला गरेको हो। महामारीअघि यस समय अधिकांश मानिसहरू आफ्नो परिवारसँग समय बिताउन विश्वभरबाट चीनस्थित घर फर्कन्थे।

यस चिनियाँ नयाँ वर्षमा दुई अर्ब मानिसहरूले चीन भ्रमण गर्ने अपेक्षा गरिएको छ। उक्त सङ्ख्या गत वर्ष यात्रा गर्नेहरूको सङ्ख्याभन्दा दोब्बर हो। यूकेबाट यात्रा गरेकी ली हुआको परिवार चीनमै बस्छ। नयाँ वर्षको उत्सव मनाउनका लागि फर्किएकी उनी 'धेरै लामो' समयपछि त्यहाँ आएको बताउँछिन्। भन्छिन्,'म फर्किन पाएकोमा र चिनियाँ हावामा सास फेर्न पाउँदा अति खुसी छु।'

विगत तीन वर्षमा चीनले विश्वको सबैभन्दा कडा कोभिड स्वास्थ्य नीतिहरू अपनायो। जसअन्तर्गत कयौँ लकडाउन, पटकपटक कोभिड परीक्षणको आवश्यकतालगायत नियम थिए जसले देशको अर्थतन्त्रमा उल्लेख्य प्रभाव पारेको थियो। उरुम्चीस्थित एक अपार्टमेन्टमा भएको आगलागीमा कम्तीमा १० जनाको ज्यान गएपछि त्यहाँ कोभिड निषेधाज्ञा विरुद्ध प्रदर्शनहरू सुरु भएका थिए। ती प्रदर्शन देशव्यापी रूपमा फैलिएपछि सरकार आफ्नो कडा नीतिबाट पछि हटेको हो।

धेरै चिनियाँहरूले लामो समयदेखि चलिरहेको कोभिड प्रतिबन्धले मानिसहरूको मृत्यु प्रेरित गरेको आरोप लगाएका छन्। तर, अधिकारीहरूले भने त्यसको खण्डन गर्छन्। चीनले आफ्नो कोभिड शून्य नीतिका मुख्य कडा प्रतिबन्धहरू खुकुलो बनाएदेखि त्यहाँ अस्पताल र शव दाह गृहहरूमा चाप बढेको विवरणहरू सार्वजनिक भएका छन्।  तर, राज्यले त्यहाँको सङ्क्रमण दर सार्वजनिक गर्नबाट रोक लगाएको छ। शनिवार त्यहाँ जम्मा दुई जनाको मृत्यु भएको जनाइएको छ।शनिवार नै चिनियाँ सरकारले सङ्क्रमण दरबारे आलोचना गर्ने एक हजारभन्दा बढी सामाजिक सञ्जालका खाताहरूमा प्रतिबन्ध लगाएको थियो।

सङ्क्रमण दरको अपेक्षित वृद्धि र त्यहाँका मानिसको चीन बाहिर यात्राले बेलायतलगायत धेरै देशहरूलाई चीनबाट भित्रने मानिसहरूमा कोभिड(१९ परीक्षणको नेगेटिभ रिपोर्ट अनिवार्य गर्न प्रेरित गरेको छ। यस निर्णयले चिनियाँ सरकारलाई चाहिँ क्रुद्ध बनाएको छ। बुधवार विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले एउटा चेतावनी दिँदै चीनले आफ्नो देशमा कोभिडको वास्तविक असरलाई कम प्रस्तुत गरेको जनाएको थियो ( जसमा उसको जोड मृत्युका सङ्ख्यालाई लिएर थियो। तर बेइजिङले डब्ल्यूएचओलाई 'वैज्ञानिक, वस्तुपरक र न्यायपूर्ण हुन'आग्रह गरेको थियो। बीबीसीबाट साभार गरिएको 

२०७९ पुष २४ १९:४९ बजे

प्रतिक्रिया