पेट दुखेको औषधि माग्दा शिक्षिकाले झुक्किएर स्प्रिट दिएपछि सिरहामा एक छात्राको मृत्यु

प्रहरी कार्यालयमाथि ढुंगामुढा

bimbonline बिम्ब अनलाइन
२०७९ पुष २४ १३:२९ बजे
प्रहरी कार्यालयमाथि ढुंगामुढा

जनकपुरधाम । शिक्षिकाको लापरबाहीका कारण सिरहाको एक विद्यालयमा छात्राको  ज्यान गएको छ ।  सिरहाको मिर्चैया नगरपालिका- ६ स्थित सगरमाथा माविमा कक्षा ८ मा अध्ययनरत छात्रा १५ वर्षीया सिर्जना कुमारी महराको ज्यान गएको हो । 

पुस २२ गते पेट दुखेपछि सिर्जनाले औषधि खान पानी मागेकी थिइन् । शिक्षिका अम्बिका लम्सालले  पानी भनेर झुक्किएर स्प्रिट दिएको र त्यो खाएपछि सिरहा नगरपालिका ११ भलुवाहीकी सिर्जनाको ज्यान गएको प्रहरीले जनाएको छ । 

सिर्जनालाई उपचारका लागि तत्कालै कर्जन्हास्थित फुलकुमारी महतो मेमोरियल अस्पताल लगिएको थियो । उपचारको क्रममा शनिबार साँझ उनको मृत्यु भएको छ ।

शिक्षिकाको लापरबाहीले मृत्यु भएको भन्दै बिहानैदेखि विद्यार्थीहरु पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका छन् । उनीहरुले ईलाका प्रहरी कार्यालय मिर्चैया माथि ढुंगामुढा गरेका छन् ।

ढुंगामुढाबाट कार्यालयमा क्षति पुग्नुको साथै पाँचजना प्रहरी घाइते भएका जनाइएको छ । 

२०७९ पुष २४ १३:२९ बजे

प्रतिक्रिया