काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन आगामी चैत ५ गते गर्ने निर्णय गरेको छ । हिजो बसेको त्रिवि कार्यकारी परिषद्ले सो निर्णय गरेको हो ।
त्रिविका रजिष्ट्रार प्रा.डा .पेशल दाहालका अनुसार परिषद्ले नै स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समिति गठन गर्नेछ । समितिले स्ववियु कार्यतालिका प्रकाशन गर्नेछ । त्रिवि विद्यार्थी कल्याण परिषद्को बैठकले आगामी चैत ५ गते स्ववियु निर्वाचन गर्नका लागि त्रिवि कार्यकारी परिषद्लाई सिफारिस गरेको थियो । सबै विद्यार्थी सङ्गठनको सल्लाह र परीक्षा, भर्ना कार्यतालिकालाई असर नपर्ने गरी विद्यार्थी कल्याण परिषद्ले निर्वाचनको मिति तय गरीएको जनाइएको छ ।
त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले त्रिवि कार्यकारी परिषद्ले निर्णय गरेसँगै आफू अब स्ववियु निर्वाचनको तयारीमा लाग्ने बताए ।
त्रिविले स्ववियु निर्वाचनका सम्बन्धमा त्रिवि पदाधिकारी, विभाग, संस्थान, नौवटै सङ्कायका डीन र परीक्षा नियन्त्रक तथा सबै विद्यार्थी सङ्गठनका अध्यक्षले छलफल गरेको थियो ।
विगत १० वर्ष देखी निर्वाचन हुन सकेको छैन्
त्रिविले स्ववियु निर्वाचन गर्न पटक पटक पहल गरे पनि हुन सकेको छैन । त्रिवि क्याम्पसमा विगत एक दशकदेखि स्ववियु निर्वाचन हुन सकेको छैन । प्रत्येक दुई र दुई वर्षमा हुने निर्वाचन २०६५ साल यता नियमित हुन नसकेको हो ।
विसं २०६५ साल चैत ६ गतेपछि एकै पटक आठ वर्षमा २०७३ चैत १५ गते भएको हो। त्यतिबेला देशैभरी त्रिविका ६२ आङ्गिक क्याम्पसमध्ये रत्नराज्य क्याम्पस (आरआर), जनप्रशासन क्याम्पससहित उपत्यकामा नौ वटा आङ्गिक र उपत्यका बाहिर १७ क्याम्पसमा मात्र स्ववियु निर्वाचन सफल भएको थियो ।
उपत्यकाका १३ क्याम्पस र उपत्यका बाहिर २३ वटा आङ्गिक क्याम्पसमा निर्वाचन हुन सकेको थिएन । त्रिविमा ६२ आङ्गिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पस रहेका छन् । स्ववियु निर्वाचन २८ वर्ष उमेरहदबन्दी र मिश्रित निर्वाचन प्रणाली लागू गरिएको छ ।
विगतमा किन भएन स्ववियु निर्वाचन ?
२०६५ मा देशभरका त्रिवि क्याम्पसमा स्ववियु चुनाव भएको थियो । त्यसयता नियमित रूपमा स्ववियु निर्वाचन हुन सकेको छैन । २०७३ मा केही क्याम्पसमा मात्र निर्वाचन भएको थियो । त्यतिबेला निर्वाचित पदाधिकारीको कार्यकाल म्याद थपपछि पनि सकिइसकेको छ । त्रिविअन्तर्गत केन्द्रीय क्याम्पससहित ६२ आंगिक क्याम्पस र १ हजार ४० वटा सामुदायिक र निजी क्याम्पस छन् ।
स्ववियु चुनाव अनियमित हुँदा विश्वविद्यालय सभादेखि क्याम्पसका महत्त्वपूर्ण निकायमा विद्यार्थीको प्रतिनिधित्व हुन सकेको छैन । विद्यार्थीमा शैक्षिक अराजकता मौलाएको आरोपसमेत लाग्दै आएको छ । २०७४ र २०७६ मा पनि स्ववियु निर्वाचन तयारी थालेर अन्तिम समयमा स्थगन गरिएको थियो । राजनीतिक दल र ठूला विद्यार्थी संगठन तयार नहुँदा स्ववियु चुनाव अनिश्चित बन्दै आएको हो । निर्वाचन गराउन विश्वविद्यालयका पदाधिकारी गम्भीर नभएको विद्यार्थी संगठनहरुको भनाई रहेको छ ।
हरेक २ वर्षमा फागुन १४ गते स्ववियु निर्वाचन गर्ने त्रिविको कार्यतालिका छ तर २८ वर्षे उमेर हद र मिश्रित निर्वाचन प्रणाली लागू भएदेखि निर्वाचन अन्योलमा रहेको छ । सभापति, सचिव र कोषाध्यक्ष प्रत्यक्ष र उपसभापति, सहसचिव, सदस्य समानुपातिकबाट निर्वाचित हुने व्यवस्था रहेको छ ।
प्रतिक्रिया