काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले पदभार ग्रहण गरेलगत्तै निर्मला पन्तको हत्याबारे न्यायिक छानबिन गर्ने पहिलो निर्णय गरेका थिए । पुस १५ मा गृहमन्त्रीको निर्देशनमा प्रहरी प्रधान कार्यालयले केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)की डीआईजी दुर्गा सिंहको नेतृत्वमा अनुसन्धान समिति गठन गरेको थियो । सिंह नेतृत्वको अनुसन्धान टोली अहिले पनि कञ्चनपुरमै रहेको छ ।
निर्मला पन्तको बलात्कार र हत्याको अनुसन्धानमा जुटेको प्रहरीले अत्यधिक खोजीका शंकितको डीएनए संकलन गर्न सफल भएको छ । प्रहरीको उच्च स्रोतका अनुसार लामो समयदेखि भारतमा रहेका ती शंकितको रगतको नमुना संकलन गरीएको जनाइएको छ ।
२०७५ साल साउन १० गते कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको थियो । १३ वर्षीया निर्मलाको हत्यामा संलग्न रहेको आशंकामा प्रहरीको अनुसन्धान टोलीले दुई जनाको रगतको नमुना संकलन गरेको हो ।
निर्मलाको बलात्कार र हत्यालगत्तै भारत पुगेका ती शंकितको डीएनए परीक्षणका लागि रगतको नमुना संकलन गरिएको हो । दुई जनाको रगतको नमुना लिएको भए पनि एक जना मात्रै शंकित रहेको प्रहरीले जनाएको छ ।
घटनाका समयमा नेपालमै बसोबास गरिरहेका ती शंकित निर्मलाको बलात्कार र हत्यालगत्तै भारत पुगेका थिए । ४ वर्षभन्दा लामो समयसम्म पनि नेपाल नफर्किएका ती शंकितको डीएनए स्याम्पल लिन प्रहरीले धेरै ठूलो प्रयास गरेको थियो । शंकितलाई नेपाल फर्काउन धेरै प्रयास गरिएको भए पनि ती शंकितलाई नेपाल ल्याउन नसकिएपछि उनको डीएनए संकलन हुन सकेको थिएन ।
शंकितको परिवार नै त्यतिबेला कञ्चनपुरमा व्यापार व्यवसाय गरेर बसेको थियो । तर घटनालगत्तै ‘फरार’ रहेका ती शंकित त्यसपछि नेपाल फर्किएनन् । डीएनए टेष्टका लागि रगतको नमुना लिएसँगै प्रहरी उत्साहित बनेको प्रहरीले जनाएको छ ।
डीएनए संकलन गरिएका शंकित पक्राउ परेको हो कि होइन भन्ने विषयमा प्रहरीले खुलाएको छैन । ती व्यक्तिको डीएनए प्रोफाइलिङका लागि भारतबाटै रगतको नमुना ल्याइएको हो कि नेपालमै पक्राउ गरी नमुना संकलन गरिएको हो, त्यो पनि खुलाइएको छैन ।
प्रहरीले घटना भएको २५ दिनपछि स्थानीय दिलिपसिंह विष्टलाई पक्राउ गरेको थियो । विष्टले मौकाको बयानमा अपराध कबुल गरेको भन्दै प्रहरीले सार्वजनिक समेत गरेको थियो । तर विष्ट मानसिक रोगी रहेको पाइएको र निर्मलाको भजाइनल स्वाबसँग विष्टको डीएनए म्याच नभएपछि उनलाई रिहाइ गरिएको थियो ।
प्रहरीले यसअघि पनि एकसय जनाभन्दा बढी व्यक्तिको डीएनएको नमुना लिएर अनुसन्धान गरिसकेको छ । तर भजाइनल स्वाबसँग कसैको पनि डीएनए नमिलेपछि प्रहरीले ती सबैलाई रिहा गरेको थियो । यसभन्दा अगाडि पनि प्रहरीले भारतबाटै एक व्यक्तिलाई पक्राउ गरी नेपाल ल्याएको थियो ।
प्रतिक्रिया