चीनबाट हुने यात्रामाथि नियन्त्रण गर्न युरोपेली देशहरूलाई सिफारिस

bimbonline बिम्ब अनलाइन
२०७९ पुष २१ ०७:५४ बजे
चीन

काठमाडौं । कोभिड सङ्क्रमण निकै बढिरहेको चीनबाट आउने यात्रीहरूको यात्रामाथि नियन्त्रण गर्न विपद्‌ नियन्त्रणसम्बन्धी युरोपेली सङ्घका अधिकारीहरूले सिफारिस गरेका छन्।

चीनबाट प्रस्थान गर्नुअघि कोभिड परीक्षण गराइएको नेगेटिभ रिपोर्ट पेश गर्नुपर्ने, आगमनका बेला पनि आक्कलझुक्कल परीक्षण गराउनुपर्ने र उडान अवधिमा मास्क लगाउनुपर्ने लगायतका व्यवस्था निर्देशिकामा समेटिएको छ।

हवाई यात्राका क्रममा प्रयोग भएको पानीमा पनि भाइरसबारे परीक्षण गर्न विज्ञहरूको सुझाव छ।यो अभ्यास जर्मनीस्थित फ्र्याङ्कफर्ट विमानस्थलले हालै शुरू गरिसकेको छ।

अधिकांश प्रतिबन्धको पक्षमा

युरोपेली सङ्घका बहुमत सदस्य राष्ट्रहरू यात्रामा प्रतिबन्ध लगाउने पक्षमा रहेको कुरा युरोपेली आयोगले बताएको भोलिपल्ट पछिल्लो सिफारिस आएको छ।

कोभिड शून्य नीति हटाउने योजनाअन्तर्गत आइतवारदेखि चीनबाट र चीनमा गरिने यात्रा सहज पारिएको छ।चीनले अहिले व्यापक स्तरमा कोरोनाभाइरस सङ्क्रमणको सामना गरिरहेको छ।

बिरामीको चापले अस्पतालहरूमाथि र शवहरूको चापले शवगृहमाथि दबाव परेका विवरण आएका छन्।युरोपेली सङ्घमा आबद्ध फ्रान्स, स्पेन र इटलीले यसअघि नै चीनबाट आउने यात्रुहरूको हकमा कोभिड परीक्षणको नियम लागु गरिसकेका छन्।

यसैबीच, विश्वस्वास्थ्य सङ्गठन डब्ल्यूएचओले चीनमा कोभिडको नयाँ भेरिअन्ट देखिएको प्रमाण नपाइएको जनाएको छ।

बदला लिने चेतावनी

यद्यपि चिनियाँ अधिकारीहरूले कोभिडको असरलाई कम आँकिरहेको हुनसक्ने भन्दै उसले सचेत गराएको छ।

बेइजिङले गत डिसेम्बरयता कोभिडबाट जम्मा २२ जनाको ज्यान गएको पुष्टि गरेको छ जुन विवरण विश्लेषकहरूको तथ्याङ्कसँग मेल खाँदैन।

वैज्ञानिक तथ्याङ्कसम्बन्धी यूकेको एअरफिनिटी कम्पनीको आकलन अनुसार चीनमा दैनिक २० लाखभन्दा बढी सङ्क्रमण र १४,७०० मृत्यु भइरहेको हुन सक्छ।

यसअघि चिनियाँ सरकारले आफ्नो देशबाट जाने यात्रुहरूको आगमनमा कडाइ गर्ने देशहरूको निर्णय राजनीतिक रूपमा पूर्वाग्रही भएको भन्दै आफूले बदला लिनसक्ने चेतावनी दिएको थियो।कोभिडका कारण अन्तर्राष्ट्रिय समुदायसँग बेइजिङको मतभेद देखिएको यो पहिलो पटक होइन।

सन् २०१९ को अन्त्यतिर चीनको वुहानमा पहिलो पटक कोरोनाभाइरस सङ्क्रमण फेला पारिएको थियो र चिनियाँ सरकारले त्यसको उद्‌गमबारे अनुसन्धान गर्ने प्रयासलाई रोकेको थियो। बीबीसी नेपाली सेवाबाट 

२०७९ पुष २१ ०७:५४ बजे

प्रतिक्रिया