काठमाडौं । बाराको कोल्हवीमा जंगलमा घाँस दाउरा काट्न गएका तीन जना महिलामाथि जिल्ला वन कार्यालयका वन रक्षकले कुटपिट गरेका छन्।
कोल्हवी ८ की ३० वर्षीया हर्कमाया खड्का, सोही ठाउँकी ३५ वर्षीया सीता श्रेष्ठ र ३९ वर्षीया मैया श्रेष्ठमाथि आइतबार दिउँसो जंगलमै पाँचजना वन रक्षकले कुटपिट गरेको जनाएको छ ।
कुटपिटबाट हर्कमायाको शरीरभरी निलडाम छ भने अन्य दुई महिलामाथि पनि कुटपिटसहित हातपात भएको पीडितहरुले बताएका छन् ।
पीडित पक्षले दोषीमाथि कारबाहीको माग गर्दै आइतबार साँझ इलाका प्रहरी कार्यालय कोल्हवीमा उजुरी दिन खोजेका थिए। तर, त्यहाँको प्रहरीले उजुरी नलिएको पीडित महिला हर्कमायाका आफन्त कुलबीर थापाले जानकारी दिए।
कोल्हवी प्रहरीले उजुरी दर्ता नगरेपछि सोमबार पीडित पक्ष दोषीमाथि कारबाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय बारा पुगेको छ।
जिल्ला प्रशासन कार्यालय बारामा दुवै पक्षलाई सँगै राखेर अहिले छलफलको प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायव उपरीक्षक (डीएसपी) राजेश थापाले बताएका छन् ।
दोषीलाई पक्राउ गरी कारबाही गर्न माग गर्दै ठूलो संख्यामा स्थानीयबासी अहिले जिल्ला प्रशासन कार्यालय कलैया पुगेका छन्। प्रशासन कार्यालयको गेटमा बसेर उनीहरुले दोषीमाथि कारबाहीको माग गरिरहेका छन्। कुटपिटमा संलग्न एकजनालाई पक्राउ गरिएको डीएसपी थापाले बताएका छन्। अन्य चारजना भने फरार रहेका छन् ।
घरदेखि करिब दुई किमी टाढाको साझेदारी वनमा सधैँ स्थानीय महिला घाँस दाउरा काट्न जाने गर्थे। ‘सधैँ झैँ आइतबार पनि हामी तीनजना सँगै घाँस दाउरा काट्न जंगल गएका थियौँ,’ वन रक्षकको कुटपिटबाट घाइते भएकी हर्कमाया खड्काले बताएकी छन् । ‘जंगलमा घाँस काटिरहेको बेला एक्कासी सिभिल ड्रेसको एउटा वन रक्षक आएर आफुलाई हातपात गरेको उनले बताएकी छ् । उनले आफुलाई प्रतिकार गरेपछि उसले अश्लिल शब्द बोल्दै लौराले जथाभावी कुटपिट गर्न गरेको पिडितको भनाई रहेको छ ।
सरकारी गाडीमा आएका पाँचजना मध्ये दुई जना वन रक्षक बर्दीमा र बाँकी तीन जना सिभिलमा रहेका पीडित महिलाले बताएकी छन्।जंगलमा आफूमाथि जबर्जस्ती (बलात्कार) गर्ने प्रयास असफल भएपछि कुटपिट भएको पीडित महिलाको भनाई रहेको छ ।
प्रतिक्रिया