काठमाडौं । यो वर्ष मुलुकभर धान उत्पादनमा वृद्धी आएको छ । यो वर्ष झन्डै ७ प्रतिशतले धानको उत्पादन बढेको हो । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले यो वर्ष धान उत्पादन ६.९४ प्रतिशतले बढेर ५४ लाख ८६ हजार ४७२ मेट्रिक टन उत्पादन भएको बताएको छ । यो वर्ष धानको उत्पादन बढे पनि धान खेती गरिएको क्षेत्र भने २ प्रतिशतले घटेर १४ लाख चार हजार ७८९ हेक्टर रहको मन्त्रालयले जनाएको छ ।
गत वर्ष धान थन्क्याउने बेला आएको बेमौसमी वर्षाका कारण ८.७४ प्रतिशतले घटेर ५१ लाख ३० हजार मेट्रिक टन धान उत्पादन भएको थियो ।
यो वर्ष धानको उत्पादन ७ प्रतिशतको हाराहारीमा बढेको मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सञ्जेलले बताएका छन् । मौसम औसत रहेको, तराईका जिल्लामा रासायनिक मलको उपलब्धता, उन्नत र हाइब्रिड बीउ प्रयोगमा भएको वृद्धि तथा स्थानीय तहसम्म कृषि प्राविधिकको पहुँच वृद्धि भएकाले उत्पादनमा बढेको उनले बताए । गत वर्षको तुलनामा धानको उत्पादन बढे पनि विगतका वर्षको तुलनामा सामान्य अवस्थामा रहेको मन्त्रालयले जनाएको छ ।
गत वर्षको तुलनामा यो वर्ष सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशमा ३३.९७ प्रतिशतले धान उत्पादन वृद्धि भएको छ । यो वर्ष लुम्बिनी प्रदेशमा १५.७२ प्रतिशत र प्रदेश १ मा ५.६० प्रतिशतले धान उत्पादन बढेको मन्त्रालयले जनाएको छ । यस्तै कर्णाली प्रदेशमा ३.४६ प्रतिशत, मधेशमा १.६१ प्रतिशत, बागमतीमा १.२२ प्रतिशत उत्पादन बढेको र गण्डकी प्रदेशमा २.६४ प्रतिशतले उत्पादनमा कमी आएको मन्त्रालयले जनाएको छ ।
यो वर्ष सबैभन्दा धेरै मधेश प्रदेश, प्रदेश १ र सुदूरपश्चिमा धान उत्पादन बढेको छ । मन्त्रालयका अनुसार प्रदेश १ मा १३ लाख ३६ हजार मेट्रिक टन धान उत्पादन भएको छ । यस्तै मधेश प्रदेशमा १३ लाख ८८ हजार ८४१ मेट्रिक टन उत्पादन भएको मन्त्रालयले जनाएको छ । लुम्बिनी प्रदेशमा ११ लाख ५१ हजार ३१३ मेट्रिक टन, सुदूरपश्चिममा पाँच लाख ८९ हजार २२१ मेट्रिक टन, बागमती प्रदेशमा पाँच लाख ४४६ मेट्रिक टन, गण्डकी प्रदेशमा तीन लाख ९१ हजार १२१ मेट्रिक टन र सबैभन्दा कम कर्णाली प्रदेशमा एक लाख २९ हजार ४७३ मेट्रिक टन धान उत्पादन भएको मन्त्रालयले जनाएको छ ।
आव २०७८/७९ मा १४ लाख ७७ हजार ३७८ हेक्टरमा धान रोपाइँ भएकामा धान उत्पादन अघिल्लो वर्षको तुलनामा ८.७४ प्रतिशतले घटेर ५१ लाख ३० हजार मेट्रिक टन भएको थियो । गत वर्ष ५६ लाख २१ हजार ७ सय १० टन धान उत्पादन भएको थियो ।
केन्द्रीय तथ्याङ्क विभागका अनुसार २०७८/७९ मा कुल गार्हस्थ्य उत्पादन (जीडीपी)मा कृषि क्षेत्रको योगदान २३.९५ प्रतिशत रहेको छ । कृषिको वृद्धिदर २.२४ प्रतिशत हुने प्रक्षेपण गरिएको छ । कृषि क्षेत्रको कुल गार्हस्थ्य उत्पादन (एजीडीपी)ंमा धानको योगदान १३ प्रतिशत र धानको कुल गार्हस्थ्य उत्पादनमा ४ प्रतिशत योगदान रहेको मन्त्रालयले जनाएको छ । जीडीपीमा धानको योगदान घट्दै गएको छ ।
प्रतिक्रिया