महानगरले माग्यो गृहसँग सहयोग

bimbonline बिम्ब अनलाइन
२०७९ पुष १५ ०७:२६ बजे
महानगर

काठमाडौं । काठमाडौँ महानगरपालिकाले थापाथलीस्थित बागमती नदी किनारको सुकुम्बासी बस्ती हटाउन आवश्यक सहयोग एवं समन्वयका लागि गृह मन्त्रालय र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग सहयोग मागेको छ। 

महानगरले दुवै मन्त्रालयलाई पत्राचार गरी सम्बन्धित जिल्ला प्रशासन कार्यालय र सुरक्षा निकायलाई आवश्यक निर्देशन एवं समन्वयका लागि अनुरोधसमेत गरेको हो। महानगरको पत्रमा उल्लेख छ, ‘‘थापाथलीको संरचना हटाई सौन्दर्यीकरणको कार्य तत्काल सुरु गर्ने कार्यक्रम रहेकाले आवश्यक सहयोग एवं समन्वयका लागि अनुरोध छ।’’

‘‘थापाथलीस्थित बागमती नदी किनारमा अव्यवस्थित तथा अनधिकृत रूपमा रहेको संरचना हटाई सो क्षेत्रको संरक्षण एवं सौन्दर्यीकरण गर्ने कार्य तत्काल अगाडि बढाउन बागमती सभ्यता एकीकृत विकास परियोजनाको अनुरोध भई आएको र सो क्षेत्र खाली गराउन महानगरबाट आवश्यक सबै समन्वय र प्रयास अगाडि बढाइएको भए पनि सफल हुन सकेको अवस्था छैन,” पत्रमा उल्लेख छ।

काठमाडौँ महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले आवश्यक समन्वय तथा सहयोगका लागि महानगरले ती मन्त्रालयलाई पत्राचार गरेको बताउँदै मन्त्रालयबाट जवाफ आएपछि थापाथली बागमती नदी किनारलगायत महानगरपालिकाभित्रका अव्यवस्थितरअनधिकृत    रूपमा रहेका संरचना हटाई संरक्षण एवं सौन्दर्यीकरण गर्ने कार्य तत्काल अगाडि बढाइने जानकारी दिनुभयो ।

राष्ट्रिय भूमि आयोगका उपाध्यक्ष तथा प्रवक्ता नहेन्द्र खड्काले सुकुम्बासीको लगत सङ्कलनका लागि आयोगबाट जारी भइसकेको अवस्थामा सोको मर्मअनुसार अनधिकृत तथा अव्यवस्थित बस्तीको व्यवस्थापन गर्न आग्रह गर्नुभयो। जनताको अधिकारको सुनिश्चित हुने गरी बस्तीको व्यवस्थापन हुनुपर्ने उहाँको भनाइ छ। 

एक महिनाअघि महानगरले थापाथलीस्थित बागमती नदी किनारका सुकुम्बासी बस्ती खाली गराउन जाँदा त्यहाँका बासिन्दा प्रतिकारमा उत्रेका थिए। सो क्रममा महानगर प्रहरी र सुकुम्बासी भनिएकाहरूबीच झडपसमेत भएको  थियो। गोरखापत्रबाट 

२०७९ पुष १५ ०७:२६ बजे

प्रतिक्रिया