"अब पुरानै कुरामा अलमलिन पनि ठिक हुँदैन, राष्ट्रपतिमा माधव नेपाल भन्ने सत्य होइन"

bimbonline बिम्ब अनलाइन
२०७९ पुष १४ २०:३५ बजे
माधव नेपाल

काठमाडौं। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफूलाई राष्ट्रपति  बन्न लागेको भन्दै आएका समाचार अर्थात नभएको बताएका छन् । नेपाली काङ्ग्रेससँगको गठबन्धनमा रहेको नेकपा माओवादी केन्द्रले कांग्रेससँगकाे गठबन्धन टुटाएर एमालेसँग मिलेर सरकार बनाएको छ ।

नेकपा माओवादी केन्द्रले एमाले र अन्य साना दलहरू मिलेर सरकार बनाएका हो । सरकार निमार्णका लागि कांग्रेससँग रहेको गठबन्धनमा प्रयास भए पनि आफूले पहिलो प्रधानमन्त्री नपाउने भएपछि माओवादी केन्द्रले एमालेसँग तालमेल गरी अहिलेको सरकार बनाएको हो । एमालेसँग विभाजन भएर बनेको माधव कुमार नेपालको पार्टीले ओलीसँग मिलेर बनेको सरकारमा जाने खासै चासो नदेखाएपछि  माओवादी केन्द्र, नेकपा एमाले र अन्य साना दलहरु मिलेर अहिलेको सरकार निमार्ण गरिएको हो ।

नेपाली कांग्रेसको गठबन्धनमा रहेको माओवादी केन्द्रले आफुलाइृ कुनै सल्लाह नगरी एमालेसँग तालमेल गर्ने पुगेको भन्दै नेकपा एसले आपत्ती जनाएको थियो । विगतमा एमालेमा रहेका माधव कुमार नेपाललाई पार्टी विभाजन गर्ने सहयोग गरेको तर अहिले प्रचण्डले एक्लै छोडेको भन्दै माओवादी केन्द्रका अध्यक्ष दाहालको आलोचना भइरहेको छ । नेकपा यसलाई पनि सरकारमा सहभागि गराउने बाटोमा प्रधानमन्त्री प्रचण्ड रहेका छन् । 

नेकपा एसका अध्यक्ष माधव नेपालले  बिहीबार पार्टी जनवर्गीय सङ्गठनका प्रतिनिधिसँगको जुम बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले काङ्ग्रेससँगको गठबन्धन छोडेर माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बनेसँगै एमालेले आफूलाई राष्ट्रपति बनाउन खोजेको भनेर चलेका हल्ला र आएका समाचारमा सत्यता नभएको बताएका हुन् ।

नेपालले  आफू कम्युनिष्ट एकताको विपक्षमा नरहेको भन्दै त्यसका लागि दुवै पक्ष तयार हुन जरुरी रहेको बताए । ‘अहिले एमालेसँग जोडेर बजारमा माधव नेपाललाई राष्ट्रपति बनाउने हल्ला चलेका छन् । ति बजार हल्लामा कुनै सत्यता छैन’ नेपालले भने, ‘यो सुनेर के हो रु कसो हो रु भनेर नेता कार्यकर्तामा जिज्ञासा पैदा भएको छ । तर बजार हल्लाको पछि लाग्नु हुँदैन ।’ उनले त्यसका लागि दुवै पक्ष तयार हुन जरुरी रहेको पनि बताए । ‘दुवै पक्ष तयार हुनुपर्छ । अव पुरानै कुरामा अलमलिन पनि ठिक हुँदैन’, उनले सरकारले विश्वासको मत लिएपछि सरकारमा जाने नजानेबारे पार्टीले निर्णय गर्ने पनि बताए ।  

नेपालले पछिल्लो पटक फेरिएको राजनीतिक समीकरण र कांग्रेसको हातबाट वामपन्थीको हातमा सत्ता आउनु सकारात्मक भएको बताए ।उनले यसबीचमा एमाले उपाध्यक्ष विष्णु पौडेलसँग आफ्नो भेट नभएको भन्दै अन्य एमाले नेता कार्यकर्तासँग भने भेटवार्ता र संवाद भइरहेको बताए ।

उनले वाम एकताबारे पहिलेदेखि नै प्रयास भइरहेको र पछिल्लो समय स्वयं राष्ट्रपतिको पनि चिन्ता चासो रहेकाले आफू वाम एकताका लागि सकारात्मक रहेको बताए । फरक प्रशंगमा अध्यक्ष नेपालले केपी ओलीले आफूलाई भेट्न खोज्दा आफूले अस्वीकार गरेको भन्ने कुरामा पनि सत्यता नरहेको बताए । ‘केपी ओली मेरो घरमा आउन खोज्दा मैले अस्वीकार गरेको भनेर पनि कुरा आएको छ । कुरा त्यसो होइन, उहाँ आए म कार्पेट ओच्छ्याएर स्वागत गर्थेँ’ नेपालले भने । 

२०७९ पुष १४ २०:३५ बजे

प्रतिक्रिया