काठमाडौं –केरुङ रेल मार्ग अध्ययनका लागि चिनियाँ टोली नेपालमा

bimbonline बिम्ब अनलाइन
२०७९ पुष १३ ०७:०६ बजे
काठमाडौं –केरुङ रेल मार्ग

काठमाडौं । काठमाडौं केरुङ रेल मार्गको सम्भाव्यता अध्ययनका लागि चिनियाँ प्राविधिकसहितको उच्चस्तरीय टोली नेपाल आइपुगेको छ । 

यसअघि नै पूर्वसम्भाव्यता अध्ययन भइसकेको रेल मार्गको सम्भाव्यता अध्ययनका लागि चिनियाँ प्राविधिक टोली  काठमाडौं आइपुगेको रेल विभागले जनाएको छ ।  विभागका प्रवक्ता अमन चित्रकारका अनुसार चिनियाँ विज्ञ र विभागको सहकार्यमा सम्भाव्यता अध्यनयको प्रक्रिया अगाडि बढ्नेछ ।

यसअघि पनि चिनियाँ सहयोगमा नै यो परियोजनाको पूर्वसम्भाव्यता अध्ययन भएको थियो । चिनियाँले सम्भाव्यता अध्ययनलाई नै विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) को तहमा बुझ्ने गरेका छन् ।

सरकारले सम्भाव्यता अध्ययनका लागि यसअघि नै चीनलाई आग्रह गरेको थियो । कोरोना कहरलगायतका कारणले चिनियाँ प्राविधिक टोली नेपाल आउन सकेन । सरकारको पटक–पटकको आग्रहपछि चिनियाँ प्राविधिक टोली नेपाल आएको हो । टोलीले नै समग्र आयोजनाको अध्ययन गर्नेछ । विभागले त्यसका लागि समन्वय गर्नेछ ।

बेल्ट एन्ड रोड अवधारणामा निर्माण गर्ने गरी नेपालले चीनसँग प्रस्ताव गरेको विभिन्न नौ परियोजनामध्येको एक हो रेल मार्ग । गएको चैतमा चिनियाँ विदेशमन्त्री वाङ यीको नेपाल भ्रमण र तत्कालीन परराष्ट्रमन्त्री डा. नारायण खड्काको चीन भ्रमणमा समेत यो परियोजनाको बारेमा छलफल भएको थियो । 

२०७९ पुष १३ ०७:०६ बजे

प्रतिक्रिया