मापदण्डविपरीत राखिएका सुरक्षाकर्मी फिर्ता गर्न ४८ घन्टे म्याद

bimbonline राजधानिदैनिकबाट
२०७९ पुष १३ ०६:३३ बजे
सुरक्षाकर्मी

काठमाडौं । गृह मन्त्रालयले बहालवाला तथा पूर्वकर्मचारी र सुरक्षाकर्मीले नियमविपरीत राखेका व्यक्तिगत सुरक्षाकर्मी र सहयोगी फिर्ता गर्न सुरक्षा निकायलाई ४८ घण्टा समय दिएको छ ।

उपप्रधानसहित गृह मन्त्रालयको नेतृत्व सम्हाले लगत्तै गृहमन्त्री रवि लामिछानेले बहालवाला तथा पूर्वकर्मचारी र सुरक्षाकर्मीले दुरुपयोग गर्दै आएका व्यक्तिगत सुरक्षाकर्मी र सहयोगी फिर्ता गर्न निर्देशन गरेका हुन् ।

लामिछानेले सोमबार गृहमन्त्रालयको जिम्मेवारी सम्हालेका थिए । त्यसको भोलिपल्ट मंगलबार नै मन्त्रालयले मातहतका सुरक्षा निकायलाई यस्तो निर्देशन गरेको हो ।

मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले ‘विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्थापन कार्यविधि २०७७’को व्यवस्थाभन्दा विपरीत सेवासुविधा लिएको र व्यक्तिगत सुरक्षाकर्मी तथा सहयोगी राखेको भए ४८ घण्टाभित्र फिर्ता गर्न मातहतका निकायलाई निर्देशन दिएको जानकारी दिए ।

‘बहालवाला तथा पूर्वकर्मचारी÷सुरक्षाकर्मीले कार्यविधिमा तोकिएअनुसार मात्र व्यक्तिगत सुरक्षाकर्मीको सुविधा पाउँछन्, विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्थापन कार्यविधि २०७७ विपरीत राखिएका सुरक्षाकर्मी फिर्ता गर्न ४८ घण्टा समय दिइएको हो’ गृह प्रवक्ता पोखरेलले राजधानीसँग भने ।

गृहको यो निर्णयसँगै नियमविपरीत बहालवाला तथा पूर्वकर्मचारी÷सुरक्षाकर्मीले प्रयोग गर्दै आएका सुरक्षाकर्मी फिर्ता गर्नुपर्ने दबाब उनीहरूमाथि बढेको छ ।

कार्यविधिविपरीत खटिएकालाई फिर्ता बोलाएपछि फिर्ता भएका सुरक्षाकर्मीको विवरण यथाशीघ्र जानकारी गराउन गृहले नेपाल प्रहरी र सशस्त्र प्रहरी संगठनलाई निर्देशन दिएको छ ।

यसअघि पनि गृहमन्त्री रामबहादुर थापाले कार्यविधिअनुसार प्रयोग भएका बाहेकका सुरक्षाकर्मी फिर्ता गर्न अभियान नै चलाएका थिए ।

त्यसबखत नेपाल प्रहरी र सशस्त्रका पूर्वभीआइपीले फोन गरेरै दुरुपयोग गरिएका सुरक्षाकर्मी फिर्ता गरेका थिए भने पूर्वराष्ट्रपतिदेखि पूर्वप्रधानमन्त्री तथा पूर्वगृहमन्त्रीदेखि पूर्वमन्त्रीले कार्यविधिविपरीत राखेका सुरक्षाकर्मी फिर्ता भएका थिए । त्यसबखत व्यापारीदेखि पुहँचवाला नेताले लिएका सुरक्षाकर्मीसमेत धमाधम फिर्ता भएका थिए । राजधानिदैनिकबाट 

२०७९ पुष १३ ०६:३३ बजे

प्रतिक्रिया