चीनबाट जापान जाने यात्रुको कोभिड परीक्षण गरिने, पोजेटिभ देखिए क्वारेन्टिनमा राखिने

bimbonline बिम्ब अनलाइन
२०७९ पुष १२ १४:४६ बजे
कोभिड परीक्षण

काठमाडौं । जापानले कोरोना भाइरसको फैलावट रोक्न चीनबाट आउने यात्रुमाथि प्रतिबन्ध थप कडा बनाउने निर्णय गरेको छ । जापानका प्रधानमन्त्री फुमियो किशिदाले देशमा कोभिड–१९ को बढ्दो केसलाई ध्यानमा राख्दै यस्तो निर्णय गरेको बताएका छन् ।

अबदेखि, चीनबाट यात्रुहरू जापान आइपुगेलगत्तै कोभिडको परीक्षण गरिनेछ । रिपोर्ट पोजेटिभ आउने यात्रुलाई सात दिन क्वारेन्टाइनमा बस्नुपर्नेछ । नयाँ प्रतिबन्धहरू डिसेम्बर ३० (शुक्रबार) देखि लागू हुनेछन् । चीन र जापानमा कोभिड–१९ संक्रमितको संख्या लगातार बढिरहेको छ ।

अर्कोतर्फ, चिनियाँ सञ्चारमाध्यममा आएको रिपोर्ट अनुसार फाइजरले बनाएको कोभिड–१९ को रोकथामको ट्याब्लेट राजधानी बेइजिङका सबै अस्पतालमा उपलब्ध गराइनेछ ।

मृत्युको तथ्यांक भने बताइएको छैन

चिनियाँ अधिकारीहरूले अन्य देशबाट आउने औषधिबाट संक्रमण रोक्न सकिने र यसले आईसीयूमा पर्ने दबाब कम हुने बताएका छन् । चिनियाँ पसलहरूमा प्रायः प्रयोग हुने औषधिको अभाव भएको छ ।

चीनको राष्ट्रिय स्वास्थ्य आयोगले हाल कोभिड–१९ बाट मृत्यु हुने बारेमा जानकारी दिएको छैन । चीनमा कोरोना संक्रमणका कारण हरेक दिन हजारौं मानिसको मृत्यु भइरहेको रिपोर्टहरूले दाबी गरेका छन् ।

चीनले सोमबार बाहिरबाट आउने यात्रुहरूलाई क्वारेन्टिनमा राख्ने निर्णय परिवर्तन गरिएको घोषणा गरेको  छ । जनवरी ८ देखि अन्य देशबाट आउनेहरुलाई क्वारेन्टाइनमा बस्नु पर्दैन । यसलाई चीनको शून्य कोभिड नीतिमा ठूलो परिवर्तनको रूपमा हेरिएको छ । एजेन्सी 

२०७९ पुष १२ १४:४६ बजे

प्रतिक्रिया