शोभराजले जाँदाजाँदै के भने ?

bimbonline बिम्ब अनलाइन
२०७९ पुष ९ १०:०६ बजे
शोभराज

काठमाडौं । नेपालको कारागारबाट रिहा भएका चार्ल्स शोभराजलाई १० वर्ष नेपाल फर्कन नपाउनेगरी शुक्रवार उनकै देश फ्रान्स पठाइएको अध्यागमन विभागका जानकारी दिएको छ ।

महानिर्देशक प्रदर्शनी कुमारीले नेपाल सरकारको निर्णयअनुसार उनलाई १० वर्ष नेपालमा आउन नपाउनेगरी निष्कासन गरिएको  बताएकी हुन् । उनलाई साँझ ६ बजे दोहातर्फ पठाइएको बताइएको छ। दोहाबाट उनी शनिवार प्यारिस पुग्ने ठानिएको छ। यद्यपि अध्यागमन अधिकारीहरूले उनलाई कुन उडानबाट कहाँ हुँदै पठाइएको हो भन्ने खुलाएका छैनन्।

काठमाडौंबाट उड्नुअघि समाचारसंस्था एएफपीलाई अन्तर्वार्ता दिँदै उनले छुट्न पाउँदा आफूलाई राम्रो लागेको बताए। मैले निकै गर्न बाँकी छ। मैले धेरै जनालाई मुद्दा हाल्नु छ, नेपाल राज्यलाई समेत, जाँदाजाँदै विमानभित्र सीटमा बसेर उनले भने। काठमाण्डूस्थित फ्रेन्च दूतावासले शोभराजको यात्राका लागि आवश्यक ‘ट्राभल डकुमेन्ट’ जारी गरिदिएपछि शुक्रवार उनलाई स्वदेश पठाइएको अध्यागमन विभागले जनाएको छ।

सन् १९७५ मा दुई विदेशी नागरिकको हत्या र फर्जी राहदानी प्रयोग गरेको अभियोगमा उनलाई छुट्टाछुट्टै मुद्दा चलाइएको थियो। सबैमा उनी दोषी ठहर भएका थिए। हत्याको अपराधमा उनलाई सर्वस्वसहित जन्मकैद सुनाइएको थियो। पन्चानब्बे प्रतिशत कैद भुक्तान गरिसकेका र उनी मुटुको बिरामी भएको भन्दै बुधवार सर्वोच्च अदालतले शोभराजलाई रिहा गरेर १५ दिनभित्र स्वदेश फर्काउन आदेश दिएको थियो।

२०७९ पुष ९ १०:०६ बजे

प्रतिक्रिया