कैलाली बहुमुखी क्याम्पसका प्रमुख धर्मराज उपाध्यायको कार्यकक्षमा तालाबन्दी

bimbonline माधव राज जोशी
२०७९ पुष ८ १२:०५ बजे
कैलाली बहुमुखी क्याम्पस

धनगढी। कैलाली बहुमुखी क्याम्पसका प्रमुख धर्मराज उपाध्यायको कार्यकक्षमा तालाबन्दी गरिएको छ। क्याम्पसले निर्वाचन आचारसंहिताविपरीत १५ जना शिक्षकलाई दिइएको करार नियुक्ती खारेजी, स्ववियु निर्वाचनको मिति घोषणा गर्नुपर्ने लगायतका माग राखेर प्रमुखको कार्यकक्षमा विभिन्न ६ विद्यार्थी संगठनले तालाबन्दी गरेका हुन्।

कैलाली बहुमुखी क्याम्पसका स्ववियु सभापति चुडामणी भट्टले क्याम्पसमा देखिएका विभिन्न विसंगतीका विरुद्धमा विभिन्न ६ विद्यार्थी संगठनले तालाबन्दी गरेको बताए। भट्टकाअनुसार क्याम्पसमा शिक्षक भर्नादेखि पठनपाठन लगायतमा देखिएका समस्या सामाधानको माग गर्दै प्रमुखको कार्यकक्षमा तालाबन्दी गरिएको हो।

विद्यार्थी संगठनहरुले आफ्ना माग पूरा नगरेमा चरणबद्ध आन्दोलनको चेतावनी समेत क्याम्पस प्रशासनलाई दिएको छ। क्याम्पसमा कांग्रेस निकट नेविसंघ, एमाले निकट अनेरास्ववियु, माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी, विप्लव नेतृत्वको नेकपा निकट क्रान्तिकारी लगायतका संगठनले तालाबन्दी गरेका हुन्।

कैलाली बहुमुखी क्याम्पसले २०६९ सालदेखि क्याम्पसमा अस्थायी रुपमा अध्यापन गराउदै आएका १५ शिक्षकलाई गत मंसिरमा करारमा भर्ना गरेको थियो। निर्वाचन आचारसंहिता विपरीत विद्यार्थी भर्ना गरिएपछि आयोगमा उजुरी परेको थियो। आयोगले क्याम्पस प्रमुख उपाध्यायलाई स्पष्टिकरण सोधेको थियो।

२०७९ पुष ८ १२:०५ बजे

प्रतिक्रिया