युक्रेनको आक्रमणमा परेर रुसका पूर्व उपप्रधानमन्त्री घाइते

bimbonline बिम्ब अनलाइन
२०७९ पुष ८ ०६:०४ बजे
पूर्व उपप्रधानमन्त्री घाइते

काठमाडौं । पूर्वी युक्रेनको रुस नियन्त्रित क्षेत्रमा रहेको एउटा होटेलमा युक्रेनले गरेको बम आक्रमणका रुसका एकजना पूर्व उपप्रधानमन्त्री घाइते भएका छन् । कुनै समय रुसको अन्तरिक्ष निकायको नेतृत्व गरेका दिमित्री रोगोजिनले आफूलाई चोट लागेको बताएका छन् ।

दोनेत्स्क सहरको किनारामा भएको आक्रमणमा अर्को एक व्यक्तिको ज्यान गएको बताइएको छ । यसै आक्रमणमा परेर रुसको प्रोक्सी दोनेत्स्क पिपुल्स रिपब्लिकका प्रमुख भिताली खोत्सेन्को पनि घाइते भएको बताइएको छ ।

रोगोजिन पश्चिमा जगतको खुल्लमखुल्ला विरोध गर्ने तथा युक्रेनमाथि रुसले गरेको आक्रमणको समर्थकको रूपमा बढी चिनिन्छन् । 

केही समय अगाडि क्रेमलिनले रुस अधीनस्थ पूर्वी युक्रेनी क्षेत्रमा महत्त्वपूर्ण भूमिका दिने सल्लाह भएपछि उनलाई अन्तरिक्ष निकाय रोस्कोस्मोसको जिम्मेवारीबाट बिदा दिइएको थियो । 

उनले पूर्वी युक्रेनमा रुसको प्रोक्सी फौजलाई सहयोग गर्ने 'जार्स वुल्भ्स' नामक एक स्वयम्सेवक टोलीको नेतृत्व गर्न थालेका थिए । सन् २०१४ देखि रुसी फौजले दोनेत्स्कमाथि नियन्त्रण जमाउँदै आएको छ । बीबीसीबाट ।

२०७९ पुष ८ ०६:०४ बजे

प्रतिक्रिया