बैतडी शिक्षक हत्या प्रकरण : दुई जना पक्राउ

bimbonline टेक साउद
२०७९ पुष ७ १२:२६ बजे
बैतडी शिक्षक हत्या प्रकरण

बैतडी। बैतडीको पाटनमा गत शनिबार मृत अवस्थामा फेला परेका शिक्षक धनबहादुर विष्टको हत्या भएको खुलेको छ । सुर्नया गाउँपालिका –२ ग्वानी घर भई पाटनस्थित कृष्ण माविमा पढाउँदै आएका विष्टको हत्या गरेको अभियोगमा दुई जना पक्राउ परेका छन् ।

कृष्ण माविमा कम्प्युटर डिप्लोमा अध्ययनरत पुर्चौडी नगरपालिकाकी विमला बोहरा र उनका श्रीमान् प्रजा बोहरालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरू श्रीमान–श्रीमती हुन् ।

दुवै जनालाई इलाका प्रहरी कार्यालय पाटनको हिरासतमा राखिएको छ । जिल्ला प्रहरी कार्यालय बैतडीले पत्रकार सम्मेलनमार्फत उनीहरुलाई सार्वजनिक गर्ने तयारी गरेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव महानिरीक्षक मोहनकुमार आचार्यले बताए । 

कृष्ण माविको छात्राबासमा बसेर अध्ययनरत युवती र उनका श्रीमानलाई सीआइबीको टोली आएपछि पक्राउ गरिएको थियो । उनीहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दा उनीहरुको हत्यामा संलग्नता रहेको प्रहरीले पुष्टि गरेको छ । 

शिक्षक बिष्ट सोही छात्राबासको माथिल्लो तलामा बस्दै आएका थिए । छात्राबासको तल्लो तलामा ती युवती आफ्ना भाइहरुसंगै बसेर पढ्दै आएकी खुलेको छ । घटना भएको दिन बिष्टले ती युवतीलाई बोलाएको र सोही बिषयमा विवाद हुँदा हत्या भएको खुलेको प्रहरीले जनाएको छ ।

शिक्षक बिष्ट पुस २ गते छात्राबासको पछाडि मृत अवस्थामा भेटिएका थिए । बिष्टको हत्या भएको भन्दै घटनाको अनुसन्धान गरेर दोषीलाई कारबाहीको दायरामा ल्याउन माग गर्दै सोही दिनदेखि पाटनमा आन्दोलन जारी छ ।

बुधबार पाटन नगरपालिकामा तालाबन्दी गर्दै नगर क्षेत्रका विद्यालयसमेत बन्द गरिएका छन् । न्यायका लागि गठित संघर्ष समितिले बिहीबार जिल्लाभरका विद्यालय बन्द गरेर आन्दोलनमा सहयोग गर्न अपिल पनि गरेको छ । मृतकका परिवारले विष्टको शव पनि बुझेका छैनन् ।

२०७९ पुष ७ १२:२६ बजे

प्रतिक्रिया