पर्सामा प्रिन्टिङ्ग एण्ड प्याकेजिङ्ग इन्डष्ट्रिजमा आगलागी हुदाँ १० करोड भन्दा बढीको क्षती

bimbonline प्रयास
२०७९ पुष ६ १३:५८ बजे
प्रिन्टिङ्ग एण्ड प्याकेजिङ्ग इन्डष्ट्रिजमा आगलागी

पर्सा । पर्सामा हेमन्तकुमार चौरसियाले सञ्चालन गरेको एस बाबा प्रिन्टिङ्ग एण्ड प्याकेजिङ्ग इन्डष्ट्रिजमा आगलागी भएको छ  । आगलागी परि करोडौँको क्षति भएको छ ।मंगलबार राति सवा ११ बजेतिर उद्योगमा आगो लागि भएको हो ।

आगलागीको खबर पाएलगत्तै प्रहरीको टोली  त्यहाँ पुगेको थियो । ७ घण्टा लगातार प्रयास गरेपछि बुधबार बिहान ६ बजे मात्र आगो नियन्त्रणमा आएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक आयुष जोशीका अनुसार बिहान ६ बजेतिर मात्रै आगो नियन्त्रणमा आएको  हो ।  आगो नियन्त्रणमा लिन पर्सा, बाराका ११ वटा वारुणयन्त्र प्रयोग गरिएको थियो ।आगलागीबाट उद्योगमा रहेको मेसिन, कच्चा सामग्री र तयारी माल जलेर पूर्ण रुपले नष्ट भएको सञ्चालक चौरसियाले बताएका छन् ।

चौरसियाका अनुसार आगलागीबाट उद्योगमा रहेका कार्टुन बनाउने, प्रिन्टिङ्ग गर्ने, प्लेट बनाउने, पार्टिसन गर्ने, प्याकेटमा जाली लगाउने लगायतका मेसिनरी पूर्णरुपले जलेर नष्ट हुनुका साथै फ्याक्ट्रीको भवनमा समेत क्षति पुगेको छ । उनका अनुसार आगलागीबाट झण्डै १३ करोडको क्षति भएको अनुमान गरिएको छ । विद्युत सर्ट भई आगो लागेको हुनसक्ने अनुमान छ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक गिरीले कसरी आगलागी भएको हो र कति क्षति भयो भन्नेबारेमा अनुसन्धान जारी रहेको बताएका छन् । 

२०७९ पुष ६ १३:५८ बजे

प्रतिक्रिया