ट्रम्पलाई चारवटा फौजदारी अभियोग लगाउन सिफारिस

bimbonline बिम्ब अनलाइन
२०७९ पुष ५ ११:३९ बजे
डोनाल्ड ट्रम्प

काठमाडौं । अमेरिकी कङ्ग्रेसको एक समितिले पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई चारवटा फौजदारी अभियोग लगाउन सिफारिस गरेको छ । झण्डै दुई वर्षअघि अमेरिकाको संसद् रहेको क्यापिटल हिलमा भएको दङ्गाको छानबिन गरिरहेको समितिले ट्रम्पलाई फौजदारी अभियोग सामना गर्नुपर्ने सिफारिस गरेको हो ।

डेमोक्र्याटिक नेतृत्वको समितिले न्याय मन्त्रालयलाई ट्रम्पमाथि अभियोजनसहित सिफारिस गर्न सर्वसम्मत रूपले मतदान गरेको बीबीसीले जनाएको छ । पूर्व राष्ट्रपति ट्रम्पका समर्थकहरूले सन् २०२१ को जनवरी ६ मा क्यापिटल हिलमा अवरोधसहित जो बाइडेनलाई राष्ट्रपति प्रमाणित गर्ने प्रक्रियामा बाधा पुर्याएका थिए । तर ट्रम्पले एक विज्ञप्तिमार्फत् आफूले कुनै गल्ती नगरेको दाबी गर्नुभएको छ ।

साथै उहाँले यो सिफारिस आफूलाई पुनः राष्ट्रपतीय चुनावमा भाग लिन रोक्ने प्रयास भएको बताउनुभएको छ । यसअघि नै ट्रम्पलाई अभियोग लगाउने या नलगाउनेबारे विचार गरिरहेका न्याय मन्त्रालयका अभियोजनकर्ताले संसदीय समितिको यो सिफारिसलाई मान्नु पर्छ भन्ने बाध्यता रहेको छैन । सात जना डेमोक्र्याट र दुई जना रिपब्लिकन सदस्य रहेको समितिले आफ्नो प्रारम्भिक १ सय ६१ पृष्ठ लामो कार्यकारी सारांश सार्वजनिक गरेको छ  । एजेन्सी

२०७९ पुष ५ ११:३९ बजे

प्रतिक्रिया