शिक्षा मन्त्रालय र गाउँपालिका राष्ट्रिय महासंघबीच १० वर्षे विद्यालय सुधार योजनाको कार्यान्वयन लागि समझदारी पत्रमा हस्ताक्षर

bimbonline बिम्ब अनलाइन
२०७९ पुष १ १३:०१ बजे
समझदारी

काठमाडौं । शिक्षाको पहुँच तथा गुणस्तर अभिवृद्धि गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र गाउँपालिका राष्ट्रिय महासंघबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ । बिहीबार मन्त्रालयमा विद्यालय शिक्षा क्षेत्र योजना (१० वर्षे विद्यालय सुधार योजना)को कार्यान्वयनको सन्दर्भमा स्थानीय तहमा कार्यक्रम सञ्चालनको लागि समन्वय र सहजीकरणका लागि समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

विद्यालय शिक्षामा सबैको समतामूलक पहुँच, गुणस्तर र सान्दर्भिकता, समन्व्य र सहकार्य मार्फत शैक्षिक सुशासन प्रवर्द्धन गर्ने उद्देश्यका साथ समझदारी भएको  हो । विद्यालय शिक्षा क्षेत्र योजना कार्यान्वयनलाई सुदृढ र प्रभावकारी बनाउन दुवै पक्षबीच समझदारी पत्रमा हस्ताक्षर भएको मन्त्रालयले जनाएको छ । 

शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले सबै बालबालिकालाई गुणस्तर शिक्षाको पहुँचमा पुर्‍याउने उद्देश्यको साथ समझदारी भएको बताएका छन् । 

 उनले शैक्षिक नीति तथा कार्यक्रमलाई गाउँपालिकाहरुमा प्रभावकारी रुपमा कार्यान्वयन गरी सबै बालबालिकालाई गुणस्तरयुक्त विद्यालय शिक्षा उपलब्ध गराउने समझदारीपत्रको उद्देश्य  रहेको बताएका छन् ।  यसले मन्त्रालय र गाउँपालिकाबीचको सम्बन्ध थप नजिक बनाउने र संविधान कार्यान्वयनमा सहज बनायन उनको भनाई रहेको छ । 

महासंघले विद्यालय शिक्षासँग सम्बन्धित राष्ट्रिय नीति, योजना तथा कार्यक्रम निर्माण प्रक्रियामा आवश्यकता अनुसार मन्त्रालयसँग समन्वय, राय, सल्लाह र सुझाव दिनेछ ।

समझदारीमा योजना कार्यान्वयनको क्रममा समस्या आए दुवै पक्षले सहमतिबाट समस्याको समाधान गरी कार्यान्वयन गर्ने बताइएको छ ।  समझदारीको समयावधि २०८३-०८४ सम्म रहने छ ।  मन्त्रालयले गाउँपालिकाहरुको शैक्षिक योजना निर्माण एवम् कार्यान्वयनमा आवश्यक प्राविधिक सहायता उपलब्ध गराउने  सहमती भएको छ । 

सम्झौताले विद्यालय तहको शिक्षाका सबै विषयमा छलफल गरी तीनमा गर्नुपर्ने सुधारलाई नियमित गर्न तथा गाउँपालिकामार्फत कार्यान्वयन हुने कार्यक्रमको नियमित प्रगति प्रतिवेदन प्राप्तिमा सहजीकरण हुने मन्त्रालयले जनाएको छ ।

समझादारी पत्रमा मन्त्रालयका सहसचिव डा। हरी लम्साल र गाउँपालिका राष्ट्रिय महासंघ नेपालकी अध्यक्ष लक्ष्मीदेवी पाण्डेले हस्ताक्षर गरेका छन् ।

२०७९ पुष १ १३:०१ बजे

प्रतिक्रिया