दर्शन बारे

bimbonline बिम्ब अनलाइन
२०७९ मंसिर २९ १९:५५ बजे
पुष्पलाल श्रेष्ठ – सँस्थापक महासचिव नेपाल कम्युनिष्ट पार्टी

 काठमाडौं । दृश्यते अनेन इति  दर्शन (हेर्ने तरिका) ब्रह्माण्डको सृष्टि, स्थिति र विनाशको हेर्ने तरिका वा दृष्टिकोणलाई दर्शन भनिन्छ । दर्शनको उत्पत्ति समाज विकासको दौरियानमा भएको हो । जसरी समाजले विकासका विभिन्न टेककाहरुलाई क्रमशः पार गर्दै आयो, तदनुसार दर्शन पनि आफ्नो प्रादुर्भावको साथै विकासका सिँढीहरूमा अगाडि अगाडि बढ्यो । मानव मस्तिष्कको विकासको साथै उसको चिन्तन धारामा पनि प्रगति हुँदै जाँदा एकपछि अर्को गर्दै दर्शन पनि क्रमशः विकसित अवस्थामा पुग्यो । समाजको प्रभाव अनुरुप व्यक्तिको चिन्तन अनुसार दर्शनका पनि विभिन्न भेद उपभेदहरु भए ।

 अंग्रेजीमा दर्शनलाई philo sophy भनिन्छ । philo भनेको संसार र sophy भनेको ज्ञान हो अतः  philosophy  भनेको संसारको ज्ञान हो । दर्शनलाई मुख्यतया दुई भागमा बाँड्न सकिन्छ । (१) अध्यात्मवादी दर्शन (२) भौतिकवादी दर्शन । अध्यात्मवादी दर्शन भनेको “आत्मानम् अधिकृत्य बदतीति–अध्यात्मवादी दर्शन” । संसार ईश्वरले बनाएको हो र यो उसैको आधारमा चलिरहेको छ । सृष्टि स्थिति र प्रलयलाई ईश्वरबाट अलग गरेर हेर्न सकिन्न भन्ने दर्शन अध्यात्मवादी दर्शन हो । यो बहुतै पुरानो विचारधारा हो । यसले परलोक, परम्परा, पुर्पुरो, भाग्य आदिमा विश्वास राखी मानिसबाट कुनै पनि काम असम्भव छ भन्ने कुरामा जोड दिन्छ । आध्यात्मिक विचारधारा विश्वव्यापी विचारधारा हो तापनि पश्चिमेली देशहरुमा कुनै वस्तु देख्दा कसले बनाएको हो नभनी कसरी बनेको हो, भन्ने कुराको जिज्ञासा राखी नियम खोज्ने प्रवृत्ति विकसित भएको हुँदा भौतिकवादको विकास चाँडै भयो । पूर्वमा भने व्यक्ति जिज्ञासाको विकास भएको हुनाले ईश्वर खोज्ने प्रवृत्ति बढेर गयो । यसले गर्दा अध्यात्मवाद पश्चिममा भन्दा पूर्वमा झन पछि झन् व्यापक रुपमा फैलिदै गयो । युरोपेली, इस्लामी, भारतीय र युनानी आदि सबै जसो दर्शन अन्तर्गत आध्यात्मिक र भौतिक विचारका दुवै पक्षहरू पाइन्छन् । भौतिकवादी दर्शनले वस्तुगत सत्यतालाई औल्याउँदैछ । यस दर्शनले पनि प्रारम्भिक अवस्थामा ईश्वर र धर्मको शिकार बन्नु परेको थियो । भारतीय र युनानी आदि सबै जसो दर्शन अन्तर्गत आध्यात्मिक र भौतिक विचारका दुवै पक्षहरु पाइन्छन् । भारतीय दर्शन अन्तर्गत शाक्य, बुद्धवाद, चार्वाक दर्शन आदि भौतिकवादी दर्शनको गणनामा आए तापनि यो माथि भनिए झैं भौतिकवादको पराकाष्टा “द्वन्द्ववाद” हो । सन् १९ औं शताब्दीमा आएर मात्र भौतिकवादी दर्शनले विशुद्ध भौतिकरूपमा धारण गर्न पुग्यो । यस दर्शनको नाम “द्वन्द्वात्मक भौतिकवाद” हो र यसका प्रणेता कार्लमाक्र्स र फ्रेडरिक एंगेल्स हुन् । यस दर्शनले द्वन्द्वबाट नै ब्राह्माण्डको सृष्टि भएको हो । दुई परस्पर विरोधी तत्वहरुको हमेशा संघर्ष भइरहनु अधिशासित नियम हो । यसैले संसारका अस्तित्व छ । किनभने “बेमेलको मेल नै अस्तित्व हो ।” ईश्वर भन्ने कुरा तथ्य रहित काल्पनिक झुट्टा हो । उत्पादित भौतिकवस्तु नै ठूलो हो आदि प्रतिपादन गर्दछ ।

 ब्रहमाण्डको उत्पत्तिः ब्रहमाण्डको इतिहास बहुतै पुरानो छ । कुनै पनि पुरानो कुरालाई सही रुपमा पत्ता लगाई वितरण दिन मुस्किल हुन्छ । त्यसमा पनि सृष्टिको बखत आज झैं प्रशस्त मात्रामा वैज्ञानिक औजारहरु (प्रेस आदि) थिएनन । त्यसैले भोजपत्र, ताम्रपत्र आदिमा लेखेका ऐतिहासिक कुराहरूको सहारा र आफ्नै मौलिक अनुमानले, विभिन्न दार्शनिकहरुले विवेचना गरे अनुसारका उल्लेखहरुबाट अवगत हुन्छ ।

अध्यात्मवादी (भारतीय) दर्शनका अनुसार यो त माथि भनिसकिएको छ कि ईश्वरको आड लिएर बोल्ने दर्शनलाई अध्यात्मवादी दर्शन भनिन्छ । यो अध्यात्मवादी (भारतीय) दर्शनका भेदहरु जस्तै भए तापनि उमेश मिश्र “भारतीय दर्शन” मा भारतीय दर्शनहरुमा परस्परमा कही पनि विरोध छैन । सबै दर्शनमा समन्वय अर्थात् सामञ्जस्य छ भनिएको हुँदा यी सबै दर्शनहरुको तरिका फरक भए तापनि विश्वलाई हेर्ने बाटो एउटै अध्यात्मवादी नै हो ।

यस दर्शनका अनुसार ब्राहम्णको अर्थ ब्रहम (परमेश्वर) अण्ड इव इति ब्रहमाण्ड (यो विश्व ब्रहममय हो) ब्रहमै ब्रहमाले भरिएको शरीर हो “सर्व ब्रहममयं जगत्” भनी व्याख्यान गरिन्छ । यस विश्वको आकृति अण्डाको जस्तो लाम्चो र डोलो छ ।यसैले ब्रहमाण्ड भनिएको हो । यस ब्रहमाण्डका सृष्टिकर्ता भगवान परमेश्वर हुन् । ईश्वरका इच्छाले यस ब्रहमाण्डको सृष्टि गरिएको हो र उसैका इच्छाले यो अडेको छ । अनि यसको विनाश पनि ईश्वरकै इच्छानुसार हुँदैछ । सृष्टि, स्थिति र प्रलयका कारण उनै ईश्वर हुन् । सृष्टि स्थिति प्रलय हेतुरहेतुरस्य .... (श्रीमद्भागवत) । यो संसार अन्धकारमय हो । यो अज्ञानै अज्ञानले भरिएको छ र माया जालमा डुबेको छ ।

 पहिले भगवानको सृष्टि गर्ने इच्छा भयो र पानीमा शेषसायी अवतार लिए । शेषावतारको नाभिबाट कमल उम्रेको थियो । त्यस कमलको फूलमाथि ब्रहमाको उत्पत्ति भयो र ब्रहमाको कानेगुजीबाट मधु र कैटभ नामका दुई राक्षसहरुको प्रादुर्भाव भयो । ती दुई राक्षस ब्रहमासँग लड्न लाग्दा ब्रहमाले मारिदिए र तिनै दुई राक्षसहरुको शरीरबाट यो पृथ्वी बनेको हो ।

यस पृथ्वीमाथि भुर्लोक आदि सात तला र पृथ्वी मुनि अतल, वितल आदि सात तला छन् । बीचमा यो पृथ्वी पानीमाथि माछाले बोकेर अडिएको छ । स्वर्ग, मत्र्य र पाताललाई त्रिभुवन भनिन्छ । यी तीन र चौध तलालाई तीन त्रिलोक चौध भुवन भन्ने चलन छ । यस पृथ्वीभित्र जम्बु, प्लक्ष, शाल्मली, कुश, कौञ्च आदि सात व्दीप छन् र प्रत्येक व्दीपलाई एक एक गरी क्षीर आदि सात समुद्रले बेरेका छन् । पृथ्वी च्याप्टो भएको हुँदा मान्द्रा झै नबेरियोस् भनी रोक्नका निम्ति चार दिशामा चार हात्तीले कुल्चेका छन् । पृथ्वी, पानी हावा, आकाश, तज (आगो) यी पाँच तत्वबाट यस संसारको सृष्टि भएको हो । यस संसारका सृष्टिकर्ता ब्रहमा हुन् । ब्रहमाले स्वयम्भुमनु र शतरुपा महारानीद्वारा जगतका सबै प्राणीहरुको सृष्टि गरेका हुन् ।

 ब्रहमाका सृष्टि अन्तर्गत सबै प्राणीहरुले आ–आफ्नो जात वर्ण र आश्रम बमोजिम धार्मिक कर्तव्य पालन गर्नुपर्दछ । बेद अध्यात्मशास्त्रको मूल ग्रन्थ हो । धर्म र अधर्मको परिभाषा वेदमा गरिएको छ । वेदमा बताइए अनुसार धर्मको उल्लंघन गरेमा पाप लाग्दछ । पाप गरेपछि नरक परिन्छ । नरकका राजा यमराज हुन् । यिनले पापीलाई सजाय दिन्छन् । धर्म गरे स्वर्ग जान पाइन्छ । ठूलो धर्म, त्याग, तपस्या गरी भगवान परमात्माको ध्यान गर्ने हो भने मुक्ति पाइन्छ, जसलाई यस पृथ्वीमा फेरि जन्मनु र मर्नु पर्दैन । दुनियाँमा पाप बढ्दै गयो भने भगवानको अवतार हुन्छ । “परित्राणाय साधुनां विनाशाय च दुष्कृताम्” । धर्म संस्थापनार्थाय संभावामि युगे युगे (साधुहरुको संरक्षण, पापीहरुको विनाश र धर्मको संस्थापनका निम्ति युग युगमा अवतार लिन्छु) भनी भगवान कृष्णले भनेका छन् (गीता) ।

 यो संसार अनित्य र परिवर्तनशील छ । किनभने यहाँ कुनै पनि वस्तु सधै एकनास कहिल्यै रहँदैन । प्रति वस्तु बढ्ने, घट्ने, उम्रने वा नाश हुने प्रक्रिया हमेसा जारी नै रहन्छ । यसको अर्थ नै संसरीत इति संसार, गच्छति इति जगत् हो । यसको अर्थ हमेशा हिंडी राख्नु वा बदलिनु हुन्छ । अतः हमेसा गतिशील हुनाले नै अनित्य र परिवर्तनशील हो ।यसको सृष्टि र विनाशको प्रक्रिया हमेशा जारी नै रहन्छ । अवतारहरु कल्प कल्पमा भइ नै रहन्छन्। यो प्रक्रियाको प्रारम्भ कहिले भयो वा कहिले समाप्त हुने हो, कुनै ठेगान छैन अर्को कुरा यो भगवानले सिर्जिएको हो । दुनियाँमा मानिसहरु नहुने हो भने यज्ञादि धार्मिक किया हुँदैनन् । यज्ञादि कर्मको अभावमा देवताहरुले खाने धुप, ध्वाँर र नैवेधको लोप हुनेछ । यसले गर्दा देवलोकमा खाद्य संकट पर्ने हुनाले सृष्टिको क्रम हमेसा चलि नै रहनु पर्दछ ।

 सत्य, त्रेता, व्दापर, कलि गरी युग जम्मा चार छन् । सत्य युगमा मानिसको प्राण हाडमा रहन्छ, धर्मले चारबोटै खुट्टाराले टेकेको हुन्छ । त्यसैले त्यहाँ सत्य छ । त्रेता युगमा मानिसको प्राण छालामा रहने र धर्मका तीन खुट्टा हुनाले त्यो त्रेता भयो । द्वापर युगमा धर्मका दुई खुट्टा र मानिसको प्राण रगत, मासुमा रहने हुनाले व्दापर युग भयो । कलियुगमा धर्मको एउटै खुट्टा छ । त्यसैले धर्म कहीं कहीं मात्र छ । मानिसको प्राण अन्नमा छ । अन्न खान नपाए मानिस मर्दछ । यो कल र झगडाको युग हो । त्यसैले कलि युग हो । कलियुगमा मानिस नास्तिक हुन्छन् । “अयं च युग धर्मो हि वर्तते कस्य दुषणम्” (यो युगको धर्म हो, कसैलाई दोष छैन ) –श्रीमद्भागवत । युग सत्यबाट शुरु भएर कलिमा समाप्त हुन्छ । अनि यस संसारको प्रलय हुन्छ । प्रलय पछि भगवानलाई सृष्टि गर्ने इच्छा हुन्छ र अवतार लिन्छन् । जस्तै मत्स्यावतार (माछाको रुप), कुर्मावतार(कछुवाको रुप), बराहावतार (बंदेलको रुप, जंगली सुगुर) आदि । वेदका अनुसार सुर्य सबै भन्दा ठूला देवता हुन । ब्राहमणहरुले त्रिकाल सन्ध्यामा जप्नु पर्ने यजुर्वेदको सबैभन्दा ठूलो मन्त्र “ओम भुर्भुवः स्वः तत्सवितुर्वरेण्यं भर्गो देवस्य धीमहि । धियो यो न प्रचोदयात्” हो । यसको अर्थ हो जुन सविता देव (सूर्य) ले हाम्रो बुद्धिलाई (धर्मादि विषयमा) प्रेरणा गरुन । ती सूर्य देवताको आश्रय लिनलाई जुन तेज हो, हामीले त्यसको ध्यान गर्दछौं । बेद अनादि हो, ब्रहमाको प्रादुभार्व हुँदा वेद हातमा लिएका थिए । त्यस्तै “ओम् खं ब्रहम” यो पनि वेदको एकदम ठूलो मन्त्र हो । बेद ब्राहमणको ग्रर्थ हो । यसलाई ब्राहमण बाहेक अरुले पढ्ने अधिकार छैन । अरु जातले वेद पढ्ने हो भने बौलाइन्छ ।

 क्रिश्चियन मत ; क्रिश्चियन धर्मावलम्बीहरु विश्वास गर्दछन् कि विश्वका समस्त प्राणीहरुलाई ईश्वरले बनाएको हो । यो जगत ईश्वरका अधिनमा छ । पहिले सृष्टिका निम्ति ईश्वरले आफ्नो बगैंचामा एडम र इभ भन्ने एक पुरुष र एक नारी बनायो । त्यस बगैंचामा धेरै मीठा मीठा फलहरु थिए र एक सर्प पनि थियो । एडम र इभ नारी र पुरुष मान्छे भए तापनि तिनीहरुका बीच कामबासनाको कुनै शिकायत थिएन । यी दुवै अति राम्रा थिए । ती दुई एडम र इभलाई ईश्वरले त्यस बगैंचाका फलहरुमध्ये स्याउ खान निषेध गरेको थियो । यसैले स्याउ देख्दा ती दुई त्यसै चुंगिएर बस्दथे । एकपल्ट त्यहाँ बस्ने ती एडम र इभ मध्ये नारी चाहिंलाई सर्पले स्याउ खान भन्यो र त्यो खाएपछि ईश्वर जस्तै सबै कुरा जान्ने भइन्छ भन्यो । सर्पको यस कुरालाई स्त्री चाहिंले पुरुष चाहिंलाई भनी र दुवैले राय गरी त्यस बगैंचाका स्याउ खाए । ईश्वरले थाहा पाएपछि ती दुर्य एडम र इभलार्ई त्यस बगैंचामा बस्न नदिई पृथ्वीमा पठाई दिए । पृथ्वीमा आएपछि ती दुईका बचि कामवासना पैदा भयो र यौन प्रक्रियाद्वारा प्राणीहरुको सृष्टि भएको हो । पछिबाट ती एडम र इभका सन्तानलाई खान लगाउन अति कठिन भयो । यसले गर्दा तिनीहरुको विगत इतिहास खोज्न लागियो । अघि एडम र इभले ईश्वरको आज्ञा उल्लंघन गरी स्याउ खाएको हुँदा अहिले उनका सन्तानहरु लाइ खान लाउन दुःख भयो भन्ने कुरा सिद्ध गरियो । यसैले ईश्वरको आज्ञा विना शर्त मान्नै पर्छ । ईश्वरको आज्ञा उल्लंघन गरेको खण्डमा दुःख पर्दछन् इत्यादि कुरा प्रमाणित गरी ईश्वरको भनाई मान्नु पर्ने अनिवार्यता कायम गराइयो ।

द्वन्द्वात्मक भौतिकवादी दर्शन ; कार्लमाक्र्स र फ्रेडेरिक एंगेल्सको द्वन्द्वात्मक भौतिकवादी दर्शनका अनुसार यस जगतको स्रष्टा ईश्वर होइन । ईश्वर भन्ने अलौकिक विशिष्ट पुरुष,जो अध्यात्मवादीहरुद्वारा कल्पना गरिन्छ छैन । सृष्टि ध्दन्दबाट भएको हो । अर्थात् कुनै पनि पदार्थमा परस्पर विरोधी तत्वहरुको अस्तित्व हुन्छ । दुई परस्पर विरोधी तत्वहरुको निरन्तर संघर्ष भइरहनु अधिशासित नियम हो । यसैले वेमेलको मेल नै अस्तित्व हो ।

वैज्ञानिकहरुले पत्ता लगाए अनुसार आजसम्ममा तत्व लगभग ११५ मानिएका छन् । यिनै तत्वहरुको रासायनिक प्रक्रियाले सम्मिश्रण भई पदार्थहरुको रुपमा बदलिनु नै सृष्टिको भौतिकवादी प्रक्रिया हो । जस्तो कि हामी पाउँदछौं, पानमा सुपारी, खैर र पानको पात आदिमा अलग अलग रंग र स्वाद हुन्छन् । ती सबैको सम्मिश्रणबाट फेरि भिन्न खालको स्वाद र रंग निक्लन्छ । यसबाट हामीलाई ज्ञान हुन्छ कि पदार्थहरुको रासायनिक प्रक्रियाले अर्को रुप धारण गर्दछ । सृष्टिको प्रक्रिया पनि यही नै हो र द्वन्द्वात्मक भौतिकवादले यसै कुरालाई विश्लेषण गरेको छ । यस ब्रह्माण्डमा शुरुमा शक्तिपुञ्ज सूर्य मात्रै थियो । त्यो शक्ति पुञ्ज अति नै तातो थियो । यसैले त्यस पुञ्जको विस्फोट भई त्यसको केही भाग अलग्गिंदा यो पृथ्वी बनेको हो । सूर्यमा आकर्षण शक्ति छ, यो पृथ्वी पनि सूर्यकै एक अंश हुँदा यसमा पनि आकर्षण शक्ति हुनु स्वाभाविकै हो । अत; यो पृथ्वी सूर्यको निश्चित दुरीमा रही सूर्यकै परिक्रमा गरिरहन्छ र दिन रात एवं ६ ऋतुको क्रम चलेको छ ।

 प्रारम्भमा यो पृथ्वी पनि सूर्य जस्तै तातो हुँदा यसको १\६ (छ खण्डको एक खण्ड भूभाग) विस्फोट भइ अलग्गियो र चन्द्रमा बन्यो । चन्द्रमाले पृथ्वीको परिक्रम गर्दछ । पछि पृथ्वी सुस्तसुस्त सेलाउँदै जाँदा वाफबाट पानी बनी चन्द्रमा निक्लेको ठाउँ (खाल्डो) मा जम्मा भयो र प्रशान्त महासागर बन्यो । यस्तै गरी खोला, नदी नालाहरु क्रमशः बन्दै गए । पानी हाईड्रोजन र अक्सिजन नामक तत्वको समिश्रणबाट बनेको हो । चन्द्रमा पृथ्वी भन्दा ६ गुणा घटी भएको हुनाले चाँडै सेलायो । त्यो यति निम्नतम तापको अवस्थामा पुगिसक्यो कि, त्यहाँ कुनै पनि प्राणी जीवित रहन नसक्ने भयो । यसैले त्यहाँको जमिन पनि उब्जाउशील छैन र त्यहाँ कुनै पनि प्राणी छैन भन्ने वैज्ञानिकहरको भनाइ छ । चन्द्रमा पृथ्वी भन्दा ६ गुणा सानो भएको हुनाले त्यसको आकर्षण शक्ति पनि पृथ्वीको भन्दा ६ नै गणा घटी छ । यसैले पृथ्वीमा ६ हातमाथि उफ्रन सक्दछ । यस्तै गरी यहाँ भन्दा चन्द्रमामा वजन पनि घटी छ । यहाँको ६ किलोको वस्तु वहाँ १ किलो पुग्दछ । यो भयो चन्द्रमा सम्बन्धी कुरा अब पृथ्वी तर्फ ओर्लौं ।

सूर्यको अंश कहिले अलग्गियो र यो पृथ्वी बन्यो भन्ने कुरा सही रुपमा पत्ता लाग्न सकेको छैन । राहुल सांस्कृत्यायनका अनुसार पृथ्वी लगभग दुई अर्ब वर्ष पुरानो छ । यस पृथ्वीभित्र ६ खण्डमा एक खण्ड भूभाग र बाँकी ५ खण्ड पानी छ । पहिले पृथ्वी साहै नै तातो भएको हुनाले यहाँ कुनै किसिमको जीव थिएन । लाखौं वर्ष पछि क्रमश सुस्तसुस्त पृथ्वी सेलाउँदै जाँदा विभिन्न तत्वहरुको रासायनिक सम्मिश्रणबाट यहाँ प्राणीहरुको सृष्टि भएको हो ।

२०७९ मंसिर २९ १९:५५ बजे

प्रतिक्रिया