दक्षिण सुडानको हिंसामा १ सय ६६ जना मारिए

bimbonline बिम्ब अनलाइन
२०७९ मंसिर २९ १३:२१ बजे
दक्षिण सुडान

काठमाडौं । बितेका चार महिनामा दक्षिण सुडानमा कम्तीमा  एकसय ६६ जनाको ज्यान गएको छ । संयुक्त राष्ट्रसंघका अनुसार देशका विभिन्न भागमा भएका हिंसात्मक घटनामा उनीहरूको मृत्यु भएको हो ।  दक्षिण सुडानमा गएका केही वर्षदेखि हिंसा जारी रहेको छ । यस क्रममा गत चार महिनामा मात्र यहाँको हिंसामा परेर कम्तीमा पनि एकसय ६६ जनाले ज्यान गुमाएका संयुक्त राष्ट्रसंघले जनाएको हो । 

संयुक्त राष्टसङ्घीय मानवअधिकारसम्बन्धी उच्च आयोगका प्रमुख भोल्कर टर्कले सो कुराको जानकारी दिएका हुन् । यहाँ पछिल्ला केही महिनायता अपर नाइल राज्यमा यस्तो हिंसा भएको छ । गएको चार महिनामा मारिनेहरुमा पनि अधिकांश यही राज्यका नागरिक रहेको बताइएको छ । 

उच्च आयुक्त टर्कले सो क्षेत्रबाट हजारौं नागरिक विस्थापित पनि भएका छन् । विस्थापित हुनेहरूको अवस्था निकै नै नाजुक रहेको पनि संयुक्त राष्ट्रसंघले जनाएको छ ।  सो क्षेत्रमा पछिल्ला केही समययता जातीय एवं लैंगिक प्रकारको हिंसा धेरै हुने गरेको पनि बताइएको छ । यस्तो हिंसामा नागरिकको हत्या, अपहरण, लुटपाट तथा उनीहरूका निजी सम्पत्ति ध्वस्त पार्ने गरिएको बताइएको छ । एजेन्सी 

२०७९ मंसिर २९ १३:२१ बजे

प्रतिक्रिया