निर्वाचन आयोगद्धारा प्रतिनिधि सभामा निर्वाचित सदस्यको विवरण राष्ट्रपतिसमक्ष पेस

bimbonline बिम्ब अनलाइन
२०७९ मंसिर २९ १२:२८ बजे
राष्ट्रपति

काठमाडाौं । निर्वाचन आयोगले प्रतिनिधि सभामा निर्वाचित सदस्यहरूको विवरण राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेस गरेको छ ।

राष्ट्रपति भवनमा केही बेरअघि आयोजित एक कार्यक्रममा निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले राष्ट्रपतिसमक्ष प्रतिवेदन पेस गरेका हुन् । आयोगले प्रतिनिधि सभाको प्रत्यक्षतर्फ निर्वाचित १६५ र  समानुपातिकतर्फ निर्वाचित ११० गरी कुल २७५ सदस्यको विवरण पेस गरेको हो ।  देशका सात वटै प्रदेशबाट निर्वाचित सदस्यको विवरण पर्सि पुस २ गते एकै पटक र एउटै समयमा प्रदेश प्रमुखसमक्ष पेस गरिने प्रमुख आयुक्त थपलियाले बताएका छन् । 

निर्वाचन आयोगले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रतिवेदन बुझाएसँगै नयाँ सरकार गठनको प्रकृया  अगाडी बढ्ने छ । राष्ट्रपतिले प्रतिवेदन बुझेपछि प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यमा निर्वाचित उम्मेदवारको  नामावली   नेपाल   राजपत्रमा प्रकाशित हुनेछ ।

मतदान सम्पन्न भएको २५ दिनपछि आयोगले आज राष्ट्रपतिसमक्ष प्रतिवेदन पेस गरेको हो । नतिजाको पूर्णविवरणसहित परिणाम घोषणा भएको ७ दिनभित्र राष्ट्रपतिसमक्ष प्रतिवेदन पेस गर्नुपर्ने व्यवस्था रहेको छ । समानुपातिक  निर्वाचन  प्रणालीतर्फको  मतगणना  मङ्सिर  तेस्रो  हप्ता मात्रै सकिएकाले अन्तिम नतिजा सार्वजनिक गर्न ढिलाइ भएको हो  । आयोगको अन्तिम परिणामअनुसार प्रतिनिधि सभातर्फ २ सय ७५ र प्रदेश सभातर्फ ५ सय ५० जना गरी कुल ८ सय २५ जना निर्वाचित भएका छन् । 

२०७९ मंसिर २९ १२:२८ बजे

प्रतिक्रिया