नबिल बैंकको लुटिएको दुई करोड ३० लाख रकमको नौ वर्षसम्म पनि भेटिएन ‘क्लु’

bimbonline बिम्ब अनलाइन
२०७९ मंसिर २८ १३:२० बजे
नबिल बैंक

काठमाडौं । ०७० मंसिर २६ गते कैलालीमा ट्राफिक प्रहरी बनेर नबिल बैंकको दुई करोड ३० लाख रुपैयाँ लुटपाट भएको  थियो  । लुटपाट भएपछि प्रहरीले लुटपाट गर्नेको खोजीकार्य गरिरहेको छ । तर प्रहरीले अहिले सम्म भने लुटपाट कसले गरेको हो भन्ने पत्ता ल्याउन सकेको छैन । अनुसन्धानमा ‘क्लु’ नभेटिँदा आपराधिक गिरोहसम्म पुग्न प्रहरी असफल भएको हो ।

सुदूरपश्चिम प्रदेश प्रहरीको नेतृत्व गर्ने अधिकांश डीआईजीले नबिल बैंकको रकम लुटपाट भएको घटनामा चासो दिने गरेका छन् ।  सो दिन कञ्चनपुरको महेन्द्रनगरस्थित नबिल बैंकबाट धनगढीस्थित नेपाल राष्ट्र बैंकमा जम्मा गर्न ल्याउँदै गर्दा दुई करोड ३० लाख ६० हजार रुपैयाँ र २०० अमेरिकी डलर लुटपाट भएको थियो ।

कैलालीको मालाखेतीमा हतियारसहित ट्राफिक प्रहरीको भेषमा रहेका लुटेरा समूहले बैंकको म१च १४६ नम्बरको जीपलाई जाँच गर्ने बहानामा नियन्त्रणमा लिएका थिए । त्यसपछि सो जीपलाई जंगलमा लगिएको थियो । जंगलमा लगेर जीपका चालक र सवार अरू कर्मचारीको हात टेपले बाँधेर रकम लुटेर भागेका थिए । 

कैलाली र कञ्चनपुर प्रहरीको टोलीले अनुसन्धान गरिरहेको तर अपराधिक गिरोहसम्म पुग्ने ‘क्लु’ फेला पर्न नसकेको कैलालीका प्रहरी प्रमुख एसपी सोमेन्द्र राठौरले बताएका छन् । 

तत्कालीन समयमा जीपका चालक, त्यसमा सवार तथा बैंकका अरू कर्मचारीलगायत शंकास्पद व्यक्तिमाथि प्रहरीले अनुसन्धान समेत गरेको थियो । 

पर्याप्त सूचनाको अभावमा लुटपाट गर्ने गिरोहसम्म पुग्न नसकिएको त्यति बेला अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरूको भनाई रहेको छ । 

तत्कालीन अवस्थामा सुदूरपश्चिम प्रहरी कार्यालयले सादा पोसाकका सबै प्रहरीलाई हटाएको थियो । त्यसैको फाइदा उठाउँदै आपराधिक गिरोहले रकम लुटेको र सूचना संकलन नहुँदा उनीहरूले उन्मुक्ति पाएको हुन सक्ने देखिएको छ । 

२०७९ मंसिर २८ १३:२० बजे

प्रतिक्रिया