मधेसी समुदायको सूचीबाट हटाइए थारू र मुस्लिम

bimbonline बिम्ब अनलाइन
२०७९ मंसिर २७ १३:४२ बजे
मधेसी आयोगले

काठमाडौं । मधेसी आयोगले थारू र मुस्लिमलाई मधेशी समुदायको सूचीबाट हटाएको छ । आयोगको मसिंर २० गतेको बैठकबाट यसबारे निर्णय गरेको हो । मधेसी समुदायको थर सूचीकरण अध्ययन प्रतिवेदन २०७८ को उपसमूह १ मा रहेको थारु र २ मा रहेको मुस्लिमको सूची हटाउने निर्णय  गरिएको आयोगका अध्यक्ष डा.विजयकुमार दत्तले जानकारी दिएका छन् । 

यसअघि मधेसी आयोगले थारु र मुस्लिमलाई मधेसी समुदायको सूचीमा राखेर राष्ट्रपतिलाई सिफारिससहितको प्रतिवेदन बुझाएपछि विरोध भएको थियो । सो निर्णय कार्यान्वयनका लागि आयोगकी उपसचिव सविता डंगोलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पत्र पठाएकी छिन् । 

थारु र मुस्लिम समुदायका विभिन्न संघ-संगठनहरुले थारु र मुस्लिम समुदायको छुट्टै पहिचान र सभ्यता रहेको भन्दै मधेशी क्लस्टरमा आफूहरुलाई नराख्न आयोगमा निवेदन दिएका थिए । निवेदनमाथि आयोगले निर्णय लिँदै सूचीबाट हटाउने निर्णय गरेको हो । मधेशी आयोगले २०७८\७९ को बार्षिक प्रतिवेदन मार्फत राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष थारु र मुस्लिम सहित १४९ जात लाई मधेसीको रुपमा सिफारिस गरेको थियो ।

२०७९ मंसिर २७ १३:४२ बजे

प्रतिक्रिया