युक्रेन युद्ध: लडाइँ गर्न अस्वीकार गर्ने रुसी सैनिकहरूलाई "यातना र कारागार"

bimbonline बिम्ब अनलाइन
२०७९ मंसिर २७ १२:२५ बजे
युक्रेन युद्ध

 काठमाडौं । युद्धको अग्रमोर्चामा जान अस्वीकार गरेपछि आफ्ना छोरालाई पेस्तोलले हिर्काइएको सर्गेइले बताएका छन् । युक्रेनमा लड्न पठाइँदा सर्गेइले आफ्नो छोरालाई त्यहाँ नजान आग्रह गरेका थिए। "त्यहाँ तिम्रा आफन्तहरू छन्। जान नमान," आफूले स्टाट्सलाई भनेको कुरा उनी सम्झिन्छन्। सर्गेइ आफूले पनि सेनामा काम गरेका थिए। "तर उसले आफू जाने बतायो। त्यसो गर्नु उचित भएको उसको विश्वास थियो। मैले उसलाई ऊ संवेदनाहीन बनेको बताएँ। दुर्भाग्यवश पछि त्यही कुरा प्रमाणित भयो।"

सर्गेइ र स्टाट्स उनीहरूको वास्तविक नाम होइन। उनीहरूको परिचय गोप्य राख्न हामीले नाम परिवर्तन गरेका छौँ। उनको कथा सुन्न हामी सर्गेइले घरमा गयौँ।

"ऊ युक्रेन गयो। त्यसपछि लड्न अस्वीकार गरे के हुन्छ भन्ने प्रश्नसहितका सन्देशहरू मैले उसबाट पाउन थालेँ," उनले भने।उसका अनुसार "रुसीे सैनिकहरूलाई कभर उपलब्ध गराइएको थिएन। कुनै गुप्त सूचना उपलब्ध थिएन, तयारी पनि थिएन। अघि बढ्न निर्देशन दिइएको थियो तर अघि बढ्दै जाँदा के हुन्छ थाहा थिएन।""तर युद्धमा सहभागी हुन अस्वीकार गर्नु उसका लागि कठिन निर्णय थियो।"

मैले उसलाई भनेँ, "त्यस्तो निर्णय गर्दा ठिक हुन्छ। यो हाम्रो युद्ध होइन, यो हाम्रो मुक्तिको युद्ध होइन।" उसले आफ्नो अस्वीकृति लिखित रूपमै पेस गर्ने बतायो। लड्न अस्वीकार गर्ने ऊसहित अन्यको बन्दुक खोसियो र उनीहरूलाई सशस्त्र टोलीले थुन्यो।"

छोरालाई छुटाउन सर्गेइले निकै दौडधुप गरे। सैन्य अधिकारीदेखि अभियोजनकर्ता अनि अनुसन्धानकर्ताहरूसँग सहयोगका लागि याचना गरे। उनको प्रयास सार्थक पनि भयो। स्टाट्सलाई रुस फिर्ता पठाइयो।

अस्वीकार गर्ने सैनिकलाई कसरी दिइयो यातना

उनले बन्दी बनाइएका बेला आफूमाथि गरिएको व्यवहारबारे बुवालाई बताए। कसरी रुसी सेनाका "विभिन्न समूहले" युद्धमा सहभागी हुन दबाव दिने प्रयास गरेका थिए भन्ने कुरा उनले सुनाए। "उसलाई कुटपिट गरिएको थियो र गोली हान्नका लागि लगे जसरी बाहिर लगिएको थियो। उसलाई जमिनमा सुत्न लगाएर १० सम्म गन्न भनिएको थियो। तर उसले अस्वीकार गर्‍यो। त्यसपछि पेस्तोलले उसको टाउकोमा कैयौँ पटक हानियो। आफ्नो अनुहार रक्ताम्मे भएको उसले मलाई बतायो।"

"त्यसपछि उसलाई अर्को कोठामा लगियो अनि आफूसँग नगए मारिदिने धम्की दिइयो। तर त्यसै बेला कसैले मेरो छोरालाई गोदाममा काम लगाउने बताए।" फेब्रुअरीमा रुसले युक्रेनमाथि पूर्ण आक्रमण सुरु गर्दा स्टाट्स सेनामै कार्यरत थिए। युक्रेनमा "विशेष सैन्य कारबाही" का लागि प्रशिक्षित सेना मात्रै परिचालन गरिने राष्ट्रपति भ्लादिमिर पुटिनले वाचा गरेका थिए।

तर सेप्टेम्बर महिनासम्ममा परिस्थिति फेरिइसकेको थियो। राष्ट्रपतिले ूआंशिक परिचालनू को घोषणा गरे जसअन्तर्गत लाखौँ सर्वसाधारण मानिसलाई पनि पठाइयो। नयाँ समूहका कैयौँ अधिकारीहरूले पर्याप्त उपकरण अनि तालिमबिनै युद्धभूमिमा पठाउन लागिएको गुनासो गरेका थिए।

युक्रेनबाट प्राप्त कैयौँ सूचनाका अनुसार युद्धको अग्रपङ्क्तिमा जान अस्वीकार गरेका कारण त्यहाँ परिचालित रुसी सैनिकहरूलाई हिरासतमा राखिएको छ। कतिपयलाई भूमिगत तल्लाहरूमा राखिएको छ।"यो मानिसहरूलाई रक्तपातमा फर्काउने शैली हो," रुसको मुभमन्ट अफ कन्साइअन्ट्स अब्जेक्टर्सकी एलेना पोपोभाले भनिन्। "कमान्डरहरूको उद्देश्य सेनालाई त्यसरी राख्ने हुन्छ। कमान्डरहरूले हिंसा र धम्कीको भाषा मात्रै जानेका हुन्छन्। तर कसैलाई लडाइँ गर्न जान दबाव दिन मिल्दैन।"

अग्रमोर्चामा जान नचहानुको कारण के हो

केही रुसीहरूले आफ्नो नैतिक अडानका कारण युद्धको अग्रमोर्चामा फर्किन नचाहेका हुनसक्छन्। तर त्यसबाहे पनि अरू सामान्य कारणहरू छन्।"आफूले चाहेभन्दा बढी पटक अग्रपङ्क्तिमा खटिनु परेका कारण पनि कतिपयले लड्न अस्वीकार गरेको हुन्," एलेना पोपोभा भन्छिन्।"अर्को कारण भनेको उनीहरूमाथि गरिएको गलत व्यवहार हो। भोक र जाडो खप्दै उनीहरूले सेनाको बचाउका लागि जमिन खनेर बनाइने खाडलमा समय बिताउनुपरेको छ। तर जब उनीहरू त्यहाँबाट फर्किन्छन् कमान्डरहरूको खप्की गाली खान्छन्।"

के भन्छ रुस

कारागार अनि भ्रमित सैनिकबारे सार्वजनिक भएका विवरणहरूको रुसी पक्षले खण्डन गर्दै आएको छ।" हामीसँग "रुसी सैनिकहरूका लागिे कुनै शिविर वा थुनामा राख्ने स्थान वा अन्य त्यस्तो सुविधा छैन," यसै महिनाको आरम्भतिर राष्ट्रपति पुटिनले जोड दिँदै भने। "यो सबै अर्थहीन र कपोलकल्पित दाबी हो जसलाई प्रमाणित गर्ने कुनै आधार छैन।"" सैनिकहरू युद्धका बेला रणभूमिबाट फर्किनुसँग हामीलाई कुनै समस्या छैन,"पुटिनले भने।

"गोलाबारी भइरहेको वा बम खसिरहेको अवस्थामा सबै सामान्य मानिसहरूले प्रतिक्रिया नजनाई बस्न सक्दैनन्। त्यो मानसिक तहमा पनि हुन सक्छ। तर अनुकूलनको एउटा निश्चित अवधिपछि हाम्रा मानिसहरू भव्य रूपमा लड्छन्।"

अरू सैनिकले के भोगे

एक रुसी लेफ्टिनेन्ट आन्द्रेइले लड्न छाडे। जुलाईमा युक्रेनमा तैनाथ गरिएका उनलाई त्यसपछि थुनामा राखियो। त्यहाँको अवस्थाबारे जानकारी गराउन उनले आफ्नी आमा ओक्शानालाई सम्पर्क गर्न सफल भए। हामीले उनीहरूको पनि नाम परिवर्तन गरेका छौँ।"उसले आफूमातहत रहेका सैनिकलाई मृत्युको मुखमा धकेल्न आफूले अस्वीकार गरेको बतायो," ओक्शानाले भनिन्।" नेतृत्वकर्ताका हिसाबले अघि बढे आफूहरू जीवितै बाहिरिन नसक्ने कुरा उसले बुझेको थियो। त्यही कारण मेरो छोरालाई कारागार पठाइयो। त्यसपछि ऊ र अन्य चार सैन्य अधिकारीलाई भूमिगत तल्लामा राखिएको खबर मैले पाएँ। तर उनीहरूसँग पाँच महिनादेखि सम्पर्कविहीन छन्।""पछि उनीहरूलाई राखिएको भवनमा आक्रमण भएको र त्यसपछि पाँचै जना हराएको मलाई बताइयो। उनीहरूले केही पनि नभेटिएको मलाई बताए। उनीहरूको आधिकारिक अवस्था ूयुद्धका क्रममा हराएकोू भन्ने छ।" "यसको कुनै अर्थ म देख्दिनँ। यो निरर्थक कुरा हो। मेरो छोरामाथि जस्तो व्यवहार गरियो त्यो गैरकानुनी मात्रै होइन, अमानवीय पनि छ।" बीबीसीबाट साभार गरिएको 

२०७९ मंसिर २७ १२:२५ बजे

प्रतिक्रिया