वागमती सफाइको पाँच सय हप्ता स् २० हजार टन फोहर निकालियो

bimbonline बिम्ब अनलाइन
२०७९ मंसिर २५ १४:१९ बजे
वागमती सफाइ

काठमाडौं । काठमाडौँ उपत्यकाको सभ्यताको स्रोत वाग्मती नदी सफाइको पाँचसय हप्ता नाघेको छ । यस अवधिमा सफाइ गरेर वाग्मतीबाट करिब २० हजार टन फोहोर निकालिएको छ । वि।सं २०७२ जेठ ५ गते वाग्मती सफाइ महाअभियान सुरु भएको हो । त्यसयता प्रत्येक हप्ता शनिबार बिहान दुई घण्टा सफाइ गरिँदै आएको छ ।

साप्ताहिक रुपमा यसरी सफाइ गर्दा पनि अत्यधिक फोहोर निकाल्ने गरिएको सफाइ महाअभियानले जनाएको छ । सफाइ महाअभियान सुरु भएको पाँच सय हप्ता पूरा हुँदा पनि वाग्मती पूर्णरुपमा सफा हुन सकेको छैन । सर्वसाधारणले वाग्मतीमा यसरी फोहोर फाल्ने हो भने जति सफाइ गरे पनि कहिल्यै सफा बन्दैन । फोहोर फाल्नेलाई जरिवाना गरिने व्यवस्था पूर्णरुपमा कार्यान्वयन हुन सकेको छैन ।

महाअभियान सुरु भएको साढे सात वर्षमा करिब १५ लाख अभियानकर्मीले स्वयंसेवकका रूपमा वाग्मती नदीको फोहोर सङ्कलन गरेका छन् । स्वतः स्फूर्तरुपमा स्वयंसेवी अभियानमा सहभागी हुँदै आएका छन् । सफाइमा संलग्नलाई विभिन्न आरोप लगाउने काम भइरहेको अभियानकर्मी राम साह बताउँछन् ।

सफाइ महाअभियान चलेपछि नदी किनारमा करिब १० हजारभन्दा बढी बिरुवा रोपिएको छ । वृक्षारोपणका कारण नदी किनारमा हरियाली छाएको छ । जागरणमूलक वाग्मती सफाइ महाअभियानबाट प्रभावित भएर मुलुकभर १०० भन्दा बढी स्थानमा सफाइ अभियान सुरु गरिएको छ । यसबाट नदीको सौन्दर्य बढेको साह बताउँछन्। 

सफाइ महाअभियानबाट नदी किनारको अतिक्रमित जग्गा फिर्ता गरिएको छ । अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिमार्फत वाग्मती नदी किनारको दायाँ बायाँ २७ किलोमिटर ढल निर्माण गरिएको छ । एसियाली विकास बैंकको ऋण सहयोगमा सुरु भएको वाग्मती सौन्दर्यीकरण कार्यक्रम नदी किनारमा रहेका सुकुम्बासीका कारण प्रभावित भएको छ । 

अधिकार सम्पन्न वाग्मती समितिको सञ्चालक सदस्यसमेत रहेकी सफाइ अभियानकर्मी डा।माला खरेल नदी किनारका सुकुम्बासीको व्यवस्थापन गरेर सुन्दरता बढाउन सूचना सार्वजनिक गरी काम भइरहेको बताउँछिन् । काठमाडौँ महानगरपालिकाको समेत सहयोग लिएर छिटो सुन्दरता बढाउनका लागि नदी किनारका सार्वजनिक जग्गा खाली गर्न लागिएको उनले जानकारी दिइन् । रासस 

२०७९ मंसिर २५ १४:१९ बजे

प्रतिक्रिया