मेलम्चीकाे पानी सुन्दरीजल आइपुग्यो , दैनिक १७ करोड लिटर वितरण गरिने

bimbonline बिम्ब अनलाइन
२०७९ मंसिर २० १४:०९ बजे
मेलम्ची

काठमाडौं । मेलम्ची खोलाको पानी सुन्दरीजल आइपुगेको छ। कार्यकारी निर्देशक कमलराज श्रेष्ठले पूर्व निर्धारित समयमा नै मेलम्चीको पानी वितरणको लागि पठाइने  जनाएका छन् । 

अब दैनिक १७ करोड लिटरका दरले लगातार ६ महिना सम्म खानेपानी आपूर्ति हुने उनको भनाई रहेको छ । साथै बाह्रै महिना मेलम्चीको पानी पथान्तरण सम्बन्धमा पनि तत्काल कार्यान्वयनको लागि प्रक्रिया अगाडि बढिरहेको  उनले बताएका छन् । 

गत हप्ता मात्र मेलम्ची खानेपानी आयोजनाले काठमाडौंमा पानी वितरणका लागि अस्थायी बाँध बनाएर सुरुङमा पानी पठाउन सुरु गरिएको थियो । मङ्सिर १२ गतेदेखि २६ किलोमिटर लामो सुरुङमा मेलम्ची नदीको पानी पठाउने काम सुरु भएको आयोजनाका प्रवक्ता राजेन्द्र पन्तले  जानकारी दिए । 

सुरुङ सफा गरेर पानी हाल्ने काम  भएको प्रवक्ता पन्तले  बताएका छन् । अब पानी प्रशोधन गरेर उपभोक्ताका घर घरमा पुग्नेछ । केहीदिन भित्रै उपभोक्ताको धारामा पानी पुग्नेछ ।  पानी प्रशोधन भएपछि काठमाडौं उपत्यका खानेपानी लिमिटेडले नयाँ तालिका बनाएर पानी वितरण कार्यलाई अघि बढाउने उनले बताएका छन् । 

२०७८ साल असारमा आएको बाढी पहिरोले मेलम्ची आयोजना स्थलमा क्षति पुगेपछि पानी आउन बन्द भएको थियो । गत वैशाखमा अस्थायी बाँध बनाएर काठमाडौं पानी पठाउन थालिए पनि १ महिनापछि गत जेठदेखि सुरुङको बन्द गरेर पानी पठाउन रोकिएको थियो । 

महानगर बाहिरका क्षेत्रमा पनि मेलम्चीको पानी पुर्‍याउनु पर्छ

नेपाली काँग्रेसका नेता तथा काठमाडौं क्षेत्र नम्बर ५ का सांसद प्रदीप पौडेलले काठमाडौं महानगरपालिका बाहिरका क्षेत्रमा पनि मेलम्चीको पानी उपलब्ध गराउनुपर्ने बताएका छन् । 

मंगलवार प्रधानमन्त्री शेरबहादुर देउवालाई मेलम्ची खानेपानीबारे ध्यानाकर्षण पत्र बुझाउँदै उनले काठमाडौं महानगरपालिका बाहिरका क्षेत्रमा पनि मेलम्चीको पानी पु¥याउने गरी व्यवस्थापन गर्न आग्रह गरेका हुन् । उनले मेलम्ची खानेपानी आयोजनामा हालसम्म ६५ अर्ब भन्दा बढी राज्यको लगानी भइसकेको उल्लेख गर्दै काठमाडौंवासीलाई खानेपानी उपलब्ध गराउने प्रमुख श्रोतको व्यवस्थापनमा राज्यले विशेष जोड दिनपर्ने बताएका छन् । 

नेता पौडेलले मेलम्चीको पानी व्यवस्थापनका लागि छुट्टै व्यवस्थापन निकाय आवश्यक रहेको पनि बताए । उनले मलेम्चीको पानी काठमाडौं आइसक्यो भनेर मात्रै छोड्नु नहुने भन्दै मेलम्ची विकास समितिलाई कायम गरेर वर्षातको समयमा मेलम्चीको पानी ल्याउने व्यवस्था गर्न प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराए । नेता पौडेलले १२ महिना नै मेलम्चीको पानी काठमाडौंमा प्रयोग गर्न सकिने गरेर काम हुनुपर्ने बताए । 

२०७९ मंसिर २० १४:०९ बजे

प्रतिक्रिया