अमेरिकाले कतारलाई १ अर्ब डलर बराबरको हतियार दिने

bimbonline बिम्ब अनलाइन
२०७९ मंसिर १४ ११:०३ बजे
हतियार

काठमाडौं । अमेरिकाको जो बाइडन प्रशासनले लामो विलम्बपछि कतारलाई १ अर्ब डलर बराबरको सशस्त्र ड्रोन दिने सम्झौतालाई स्वीकृति दिएको छ । 

मंगलवार अमेरिकाको परराष्ट्र मन्त्रालयले उक्त सम्झौतालाई स्वीकृति दिएको हो । यस सम्झौताअन्तर्गत १० वटा अत्याधुनिक ड्रोन प्रणाली, २०० ड्रोन इन्टर्सेप्टर र सम्बन्धित उपकरणहरू कतारलाई अमेरिकाले बेच्नेछ । 

कतारले सन् २०२० मा सशस्त्र ड्रोन किन्नका लागि अनुरोध गरेको थियो । कतारसँग अमेरिकाको घनिष्ठ सम्बन्ध भए पनि अमेरिकी अधिकारीहरूले हतियार सम्झौतालाई स्वीकृति दिन ढिलाइ गरिरहेका थिए । कतारको अल उदैद एयरबेसलाई अमेरिकी सेनाले उपयोग गर्दै आएको छ । 

पोहोर साल अमेरिका अफगानिस्तानबाट अव्यवस्थित रूपमा फिर्ता हुँदा कतारले हजारौं शरणार्थीलाई आतिथ्य दिएको थियो । अमेरिकालाई यसरी सहयोग गरेको भए पनि सशस्त्र ड्रोन दिलाउन अमेरिकाले किन आनाकानी गरेको हो भन्ने कतार सरकारले थाहा पाएको थिएन । 

कतार विश्वसनीय सहयोगी हो भनी अमेरिकाको रक्षा मन्त्रालयले हतियार सम्झौतालाई स्वीकृति दिन परराष्ट्र मन्त्रालयलाई प्रेरित गरेको थियो । एजेन्सी 

२०७९ मंसिर १४ ११:०३ बजे

प्रतिक्रिया