थापाथलीको सुकुम्वासी बस्ती आज जे देखियो

bimbonline बिम्ब अनलाइन
२०७९ मंसिर १३ १३:२४ बजे
सुकुम्वासी बस्ती

काठमाडौं । काठमाडौं महानगरपालिकाले बल प्रयोग गरेर हटाउन खोजेपछि थापाथलीस्थित बागमती नदी किनारको सुकुम्वासीहरु आन्दोलीत भएका छन् । 

उनीहरुले आज सडकमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)को पुत्ला जलाएका छन् । उनीहरुले शव राख्ने बाकस माथि  काठमाडौं महानगरपालिकाका मेयर बालेनको फोटो राखेर जलाए ।त्यहाँ आज बिहान ८ बजेदेखि यहाँ आन्दोलन जारी छ । सडकभरी टायर र ढुंगा छरिएका छन् ।

आफूहरुलाई उचित बसोबासको व्यवस्था नमिलाई हटाउन लागिएको भन्दै उनीहरुले आज बिहान काठमाडौं महानगरपालिकाको कार्यालय अगाडि पनि प्रदर्शन गरेका थिए । त्यहाँबाट पुनः आफ्नै वस्तीमा फर्किएर उनीहरुले प्रदर्शन जारी राखे । अहिले उनीहरुले मेयर बालेन विरुद्ध नाराबाजी गरिरहेका छन् ।

एकीकृत बागमती सभ्यता विकास समितिले अतिक्रमित बस्ती खाली गराइदिन महानगरलाई अनुरोध गरेसँगै महानगरको टोली सोमबार बस्तीमा पुगेर हटाउन खोजेको थियो । त्यसक्रममा दुवै पक्षबीच तनाब उत्पन्न भएको हो । 

एकीकृत बागमती सभ्यता विकास समितिले ४ मंसिरसम्म अन्तिम म्याद राखेर नदी किनारका अतिक्रमित बस्ती खाली गर्न सूचना निकालेको थियो । सोही अनुसार बस्ती खाली गराउन महानगरको टोली पुगेदेखि नै थापाथली क्षेत्र अशान्त छ ।

२०७९ मंसिर १३ १३:२४ बजे

प्रतिक्रिया