एमालेले राष्ट्रिय राजनीतिमा लिड रोल नलिँदासम्म देश अगाडि बढन सक्दैन : विष्णु पौडेल

bimbonline बिम्ब अनलाइन
२०७९ मंसिर १२ १३:५६ बजे
विष्णु पौडेल

काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलले मुलुकलाई नेतृत्व प्रदान गर्नेगरी आफ्नो  नेकपा एमाले अघि बढ्ने बताएका छन् । 

रूपन्देही क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित उनले सोमबार बिहान बुटवलमा स्थानीय सञ्चारकर्मीहरूमाझ संक्षिप्त कुरा गर्दै मुलुकको विकास, समृद्धि र न्यायको अभियानलाई गति दिन पनि एमालेले नेतृत्वदायी भूमिका खेल्नुपर्ने बताए । 

मुलुकमा राजनीतिक स्थायित्व कायम गर्नका लागि बहुमतको सरकार बनाउने एजेण्डाका साथ आफ्नो पार्टी निर्वाचनमा गएपनि सोही अनुसारको जनादेश  नआएकाले आफुहरु अब आएको जनादेशको आधारमा अघि बढ्ने बताएका छन् । 

उनले राष्ट्रलाई अघि बढाउने सन्दर्भमा आफ्नो पार्टीले संघीय संसद, प्रदेशसभाहरूमा पनि सशक्त र प्रभावकारी भूमिका निर्वाह गर्ने बताए । 

उनले भने, ‘यस पटकको निर्वाचनमा नेकपा एमालेले यो आत्मविश्वासका साथ गएको होकि एजेण्डाको दृष्टिकोणले, देशलाई अघि बढाउने एजेण्डाको दृष्टिकोणले जनताका, राष्ट्रका समस्यालाई समाधान दिने दृष्टिकोणले हामीले उठाएको महत्वपूर्ण मुद्दा राजनीतिक स्थायित्वको मुद्दा थियो । राजनीतिक स्थायित्वका लागि नेकपा एमालेको नेतृत्वमा बहुमतको सरकार गठन गर्ने मुद्दा थियो । तर, आज यतिबेलासम्म आईपुग्दा हामीलाई बहुमत  प्राप्त गर्न सम्भव भएन । हामी यो  जनादेशलाई सम्मान गर्छौ । त्यसलाई स्विकार गछौं । र, त्यस अनुरूप अघि बढछौं। ’ उपाध्यक्ष पौडेलले भने, ‘नेकपा (एमाले)ले राष्ट्रिय राजनीतिमा लिड रोल नलिँदासम्म देश अगाडि बढन सक्दैन । देशले अस्थिरताको चक्रव्यूहबाट मुक्ति पाउन सक्दैन । विकास, समृद्धि र सामाजिक न्यायको अभियानले गति प्राप्त गर्न सक्दैन भन्ने कुरा विगतको अनुभवले पनि स्पष्ट गरेको छ । त्यसकारण यो उपलब्ध सिच्यूएशनमा हामीले सकेसम्म मुलुकलाई नेतृत्व प्रदान गर्ने हिसावले हामीले पहलकदमी लिन्छौं । तदनुकूल हाम्रो भूमिका रहन्छ । राष्ट्रलाई अगाडि बढाउने सन्दर्भमा नेकपा (एमाले) आफ्नो हैसियत अनुरूपको सशक्त र प्रभावकारी भूमिकामा उपस्थित हुनेछ । नेकपा एमालेले मात्रै देशलाई सही दिशामा अघि लैजान सक्छ भन्ने अनुभूति मुलुकले गर्ने गरिकन हामी संघीय संसदमा, प्रदेशसभाहरूमा प्रस्तुत हुनेछौ। ’

२०७९ मंसिर १२ १३:५६ बजे

प्रतिक्रिया