चीनमा सरकार विरोधी प्रदर्शन गर्ने केही पक्राउ

bimbonline बिम्ब अनलाइन
२०७९ मंसिर १२ १३:२६ बजे
चीनमा सरकार विरोधी प्रदर्शन

काठमाडौं । चीनमा कोरोना भाइरस रोकथामका लागि लगाइएका प्रतिबन्धको विरोध  चर्किँदै गएको छ ।

प्रदर्शनकै क्रममा केही मानिसलाई पक्राउ  गरीएको छ ।  आइतबार राति चीनको प्रमुख व्यापारिक शहर सांघाईमा प्रदर्शनमा सहभागी भएका केही पक्राउ गरीएको बीबीसीले जनाएको छ ।

सांघाईको मुख्य प्रदर्शनस्थलमा अहिले प्रहरीले सर्वसाधारण नागरिकलाई प्रवेशमा रोक लगाएको छ । चीनको उरुम्चीस्थित एक अपार्टमेन्टमा आगलागी भएर १० जनाको मृत्यु भएलगत्तै प्रदर्शन सुरु भएको थियो । सरकारले लकडाउन गरेर घरबाहिर निस्किन नदिएकै कारण उनीहरुको मृत्यु भएको भन्दै उरुम्चीबाट सुरु भएको प्रदर्शन चीनका अन्य शहरमा पनि फैलिएको छ ।

विरोध प्रदर्शन सरकारको शुन्य कोभिड नीतिको विरोधमा बदलिएको छ र प्रदर्शनकारीले राष्ट्रपति सि जिनपिङको राजिनामासमेत मागेका छन् । केही ठाउँमा प्रदर्शनकारीले मैनवत्ती बालेका छन् त केही ठाउँका प्रदर्शनकारी सेतो कागज देखाउँदै जुलस गरीरहेका छन् । 

चीनमा कम्युनिष्ट पार्टी र सरकारविरुद्ध बोल्नुलाई निक्कै खतरनाक मानिन्छ । सरकार र पार्टी विरुद्ध बोल्ने, प्रदर्शन गर्नेलाई जेल सजायसमेत हुन सक्छ । तर पनि त्यसको प्रवाह नगरी चिनियाँ नागरिक सडकमा निस्किएका छन् ।

सामाजिक सञ्जाल र अन्तर्राष्ट्रिय सञ्चार माध्यममा सरकार विरोधी प्रदर्शनका तस्वीर तथा भिडियो आइरहे पनि चिनियाँ सञ्चार माध्यम भने यो प्रदर्शनप्रति अहिलेसम्म  कुनै प्रतिक्रीया जनाएको छैन् । 

२०७९ मंसिर १२ १३:२६ बजे

प्रतिक्रिया