काठमाडौं । उत्तर कोरियाली नेता किम जोङ उनले आफ्नो देश विश्वको सबैभन्दा शक्तिशाली आणविक शक्ति केन्द्र बन्ने लक्ष्य राखेको बताएका छन् ।
प्योङयाङले अहिलेसम्मकै सबैभन्दा शक्तिशाली क्षेप्यास्त्र परीक्षण गरेको र यो अमेरिकी मुख्य भूमिमा पुग्न सक्ने विश्वास गरिएको उत्तर कोरियाली अधिकारीले दाबी गरेका छन् ।
नेता किमले ‘ह्वासोङ–१७’ को सफलताका लागि १०० भन्दा बढी सम्बन्धित अधिकारी र वैज्ञानिकलाई पदोन्नति पनि गरेका छन् ।
नयाँ आईसीबीएमलाई ‘विश्वको सबैभन्दा बलियो रणनीतिक हतियार’ भन्दै किमले उत्तर कोरियाली वैज्ञानिकले ब्यालेस्टिक क्षेप्यास्त्रमा आणविक हतियार राख्ने प्रविधिको विकासमा आश्चर्यजनक फड्को मारेको बताएका छन् ।
“राज्य र जनताको गरिमा र सार्वभौमिकताको रक्षाका लागि आणविक शक्तिको निर्माण गर्नु सबैभन्दा ठूलो र सबैभन्दा महत्त्वपूर्ण प्रगतिको कारण हो । र, यसको अन्तिम लक्ष्य विश्वको सबैभन्दा शक्तिशाली रणनीतिक शक्ति बन्नु र यस शताब्दीमा अभूतपूर्व पूर्ण शक्तिलाई कब्जा गर्नु हो,” किमलाई उद्धृत गर्दै केसीएनएले उल्लेख गरेको छ ।
वैज्ञानिकहरूले प्योङयाङको विश्वको सबैभन्दा बलियो सेना निर्माण गर्ने लक्ष्य विश्वसामु प्रदर्शन गरेको किमले बताएका छन् ।
नयाँ ह्वासोङ–१७ आईसीबीएमको लन्चिङ भेहिकललाई ‘उत्तर कोरियाको हिरो’को उपाधि प्रदान गरिएको केसीएनएको रिपोर्टमा उल्लेख छ ।
“यसले उत्तर कोरिया पूर्ण आणविक शक्ति हो भन्ने कुरा विश्वसामु स्पष्ट रूपमा प्रमाणित गरेको छ,” प्रतिवेदनमा भनिएको छ ।रिपोर्टमा थप भनिएको छ, “उत्तर कोरियाले सबैभन्दा शक्तिशाली आईसीबीएम राष्ट्रका रूपमा आफ्नो शक्ति प्रदर्शन गरेको छ ।”
कोरिया इन्स्टिच्युट फर नेसनल युनिफिकेसनका होङ मिनले ह्वासोङ–१७ को परीक्षणलाई उत्तर कोरियाले आफूलाई प्रमुख आणविक शक्तिका रूपमा स्थापित गर्ने उद्देश्यले गरेको बताए ।
“यदि, सन् २०१७ मा ह्वासोङ–१५ को प्रक्षेपण आणविक हतियारले अमेरिकी मुख्य भूमिलाई खतरामा पार्न सक्ने राष्ट्र बन्नमा केन्द्रित थियो भने पछिल्लो क्षेप्यास्त्र सबैभन्दा शक्तिशाली आईसीबीएम राज्य बन्नमा केन्द्रित छ,” उजले थपे ।
संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्ले सन् २००६ यता उत्तर कोरियाको आणविक तथा क्षेप्यास्त्र गतिविधिका कारण उत्तर कोरियामाथि प्रतिबन्ध लगाउने झन्डै एक दर्जन प्रस्ताव पारित गरिसकेको छ । तर, उत्तर कोरियाले प्रतिबन्धको बेवास्ता गर्दै आफ्ना आणविक कार्यक्रमलाई निरन्तरता दिँदै आएको देखिन्छ । रासस
प्रतिक्रिया