पशुपति क्षेत्र विकास कोषले गौशाला धर्मशालामा चलायो डोजर

bimbonline बिम्ब अनलाइन
२०७९ मंसिर १० १३:५१ बजे
डोजर

काठमाडौं । पशुपति क्षेत्र विकास कोषले गौशाला धर्मशालाले बनाएका मापदण्डविपरीतका संरचना भत्काउन थालेको छ । 

कोषबाट अनुमति नलिई संरचना निर्माण गरेको भन्दै शनिबार बिहान गौशाला चोकपट्टिको पर्खालमा डोजर चलाएको हो । यसअघि पुरातत्त्व विभाग र कोषले पटक पटक पत्राचार गरे पनि नेपाल मारवाडी सेवा समितिले बेवास्ता गर्दै आएको छ । 

कोषले ३५ दिने सार्वजनिक सूचना गर्दा पनि अटेरी गरेपछि भत्काउने निर्णय गरी २४ घण्टाको अल्टिमेट दिएर शुक्रबार नै धर्मशालामा सूचना टाँससमेत गरेको थियो । डोजरले भत्काउन थालेपछि काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले फोन गरेर गौशालाका डीएसपीलाई तत्कालका लागि रोक्न आदेश दिएका थिए ।

कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जिल्ला प्रशासन कार्यालयबाट पत्र पठाएर सुरक्षा दिनू भन्ने आदेश भएको जानकारी सञ्चारकर्मीलाई दिए । ‘रातरात के भयो र भत्काउन तयारी भएको कुरा किन रोकियो थाहा नभएको उनको भनाई रहेको छ । 

धर्मशालाले कोषको स्वीकृति बेगर १८ हजार ०९६ वर्गफिटको नक्सा बमोजिमको संरचना निर्माण गरेको छ । ‘धर्मशालाले मासिक १२ लाखभन्दा बढी कमाउँछ तर कोषलाई वार्षिक ५१ हजार त्यो पनि सहयोग भनेर दिन्छ’, कोषका सदस्यसचिव डा.मिलनकुमार थापाले भने, ‘२०६० सालमा गरेको सम्झौताको करारअवधि अनिश्चित छ, यस्तो कहीँ हुँदैन यहीँ भएको छ । न सम्झौताअनुसार नन्दीलाई पाल्ने काम भएको छ । केवल व्यापार भएको छ ।’

२०७९ मंसिर १० १३:५१ बजे

प्रतिक्रिया