मंसिर ४ को निर्वाचन अधिनायकवादको उदाङ्गो रूप : नेपाल कम्युनिस्ट पार्टी (मशाल)

bimbonline बिम्ब अनलाइन
२०७९ मंसिर ५ २०:४१ बजे
नेपाल कम्युनिस्ट पार्टी (मशाल)

काठमाडौं ।  नेपाल कम्युनिस्ट पार्टी (मशाल)ले मंसिर ४ गते सम्पन्न भएको निर्वाचन अधिनायकवादी रूपको उदाङ्गो भएको  बताएको छ ।  आज एक विज्ञप्ति जारी गर्दै नेकपा मशालले दलाल पूँजीवादी व्यवस्थाभित्र पूँजीवादी राजनैतिक दलहरूले जतिसुकै प्रजातन्त्रको कुरा गरे पनि अन्ततः फासिस्ट र स्वेच्छाचारी ढङ्गबाट गरेको निर्वाचनले उनीहरूको अधिनायकवादी रूप उदाङ्गो भएको बताएको हो । 

जारी विज्ञप्तिमा भनिएको छ , 'निर्वाचन आयोगले जनाए अनुसार १५ वटा स्थानमा पुनः मतदान हुँदैछ । आधा दर्जनभन्दा बढि स्थानमा प्रहरीले हवाई फायर गरेको छ । एक जनाको मृत्यु र कतिपय घाइते भएका छन् । कैयौँ स्थानमा विवादका कारण झडपहरू भएका छन् । प्रहरी र सेनाको कडा घेराभित्र गठबन्धन सरकारले जनतालाई बन्दी जस्तो बनाएर मत खसाल्न लगाएको थियो । दलाल पूँजीवादी व्यवस्थाभित्र पूँजीवादी राजनैतिक दलहरूले जतिसुकै प्रजातन्त्रको कुरा गरे पनि अन्ततः फासिस्ट र स्वेच्छाचारी ढङ्गबाट गरेको निर्वाचनले उनीहरूको अधिनायकवादी रूप उदाङ्गो भएको छ ।'

'यो निर्वाचन प्रति जनताको उत्साह थिएन र मत खस्ने सम्भावना पनि अत्यन्त कम थियो । किनकि यो दलाल पूँजीवादी व्यवस्था हाम्रो देशमा छोटो अवधिमा नै असफल भइसकेको छ । त्यसकारण जनताले उत्साह साथ भाग नलिनु स्वभाविक हो । स्वयं निर्वाचन आयोग प्रमुखले दिएको जानकारी अनुसार करिब ६१ प्रतिशत मात्र मत खसेको छ । यसले पनि यो व्यवस्था प्रतिको जनताको असन्तुष्टि, आक्रोश र विरोधलाई जनाउँछ । हाम्रो पार्टीले यो व्यवस्था र राजनीतिक दलहरूको राष्ट्रघाती र जनविरोधी चरित्रको विरोध गर्दै  सक्रिय  बहिष्कारको नीति अपनाएको थियो । तर हाम्रो कमजोर सङ्गठनात्मक अवस्थाले गर्दा मतदान केन्द्रहरूमा मतदाताको शून्य उपस्थिति गराउन नसकेता पनि बहिष्कारको प्रभाव व्यापक परेको देखिएको छ । यसबाट हाम्रो पार्टीको बहिष्कार नीति सही थियो भन्ने कुरा पुष्टि भएको छ । यस सन्दर्भमा भ्रष्ट संसदीय व्यवस्था र संसदवादी दलहरूप्रति विरोध जनाउँदै यो निर्वाचनलाई बहिष्कार, अवज्ञा र नो भोट अभियान चलाउने सबै क्रान्तिकारी न्यायप्रेमी जनतालाई हाम्रो पार्टी धन्यवाद ज्ञापन गर्दछ । विस्तृत नतिजा केही दिनमा आउने नै छ । '

तर प्रारम्भिक नतिजाका आधारमा के अनुमान लगाउन सकिन्छ भने यो निर्वाचनमा स्वतन्त्रहरूले केही सिट प्राप्त गर्न सक्ने सम्भावना देखिएको छ । यसले के बताउँछ भने यो दलाल पूँजीवादी व्यवस्थाको विकल्पमा स्वतन्त्र प्रति जनताको, खास गरेर युवा पुस्ताको आकर्षण बढेर गएको देखिएको छ । यसरी युवा पुस्ताको आकर्षण बढ्नुमा राजनीतिक दलहरूको राष्ट्रघाती, जनविरोधी र भ्रष्ट चरित्रको परिणाम हो । तर दलाल पुजिवादी व्यवस्थाको विकल्प राजावादी वा स्वतन्त्रहरूको शासन हुन सक्दैन । दलाल पूँजीवादी व्यवस्थाभन्दा उच्च, विकसित र अग्रगामी व्यवस्था भनेको नयाँ जनवादी व्यवस्था नै हो । राजावादीहरूले यही दलाल पुजिवादी संविधानमाथि टेकेर संसदमा बलियो उपस्थिति कायम गर्न खोजेको देखिन्छ । यसरी देशलाई प्रतिगामी दिशामा लैजाने कार्यमा काँग्रेस र एमाले नेतृत्वका दुवै गठबन्धनहरू जिम्मेवार देखिएका विज्ञप्तिमा उल्लेख गरीएको छ । 

निर्वाचनमा जनताको न्यून उपस्थितिको परिणामले के स्पष्ट गरेको छ भने जनता अग्रगामी व्यवस्थाको पक्षमा छन् । दलाल पूँजीवादी व्यवस्थाले आफूलाइ टिकाउन जति प्रयत्न गरे पनि यो व्यवस्थाको आयु लामो छैन र हुन सक्दैन । क्रान्तिकारी शक्तिहरूले नै राष्ट्रियताको रक्षा, जनताको अग्रगामीहित र जनवादको सही अभ्यास गर्न सक्छन् । क्रान्तिकारी शक्तिहरूमा देखिएको कमी कमजोरीहरूलाई सकार्दै क्रान्तिकारी शक्तिहरू व्यापक सहकार्य, संयुक्त मोर्चा र एकीकरण आजको आवश्यकता हो । दलाल पूँजीवादी व्यवस्थालाई विस्थापित गर्नु र मजदुर किसान एकतामा आधारित नेतृत्व स्थापित गर्दै नयाँ जनवादी व्यवस्था ल्याउन क्रान्तिकारी शक्तिहरू अग्रसर हुनु पर्ने आवश्यकता र जिम्मेवारी बढेर गएको विज्ञप्तिमा उल्लेख गरीएको छ । 

२०७९ मंसिर ५ २०:४१ बजे

प्रतिक्रिया