निर्वाचन आयोगले खरिद गरेको स्यानिटाइजर विषाक्त , प्रयोग नगर्न औषधी व्यवस्था विभागको कडा चेतावनी

bimbonline बिम्ब अनलाइन
२०७९ मंसिर १ १४:४५ बजे
निर्वाचन आयोग

काठमाडौं । मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन प्रयोजनका लागि भन्दै निर्वाचन आयोगले खरिद गरेको स्यानिटाइजरमा विषाक्त पाइएको छ । निर्वाचन आयोगले किनेको स्यानिटाइजर विषाक्त भएपछि औषधी व्यवस्था विभागले प्रयोग नगर्ने कडा निर्देशन दिएको छ । स्यानिटाइजरको सम्बन्धमा नेपाल सरकार र विश्व स्वास्थ्य संगठनले बनाएको मापदपण्ड विपरीत पाइएको भन्दै औषधी व्यवस्था विभागले ती स्यानिटाइजरको प्रयोग नगर्न कडा चेतावनी दिएको हो ।

निर्वाचन आयोगले प्रत्येक मतदान केन्द्रमा प्रयोगका लागि भन्दै ५ सय एमएलको १० थानका दरले प्रत्येक मतदान केन्द्रमा ५ लिटरका दरले स्यानिटाइजर वितरण गर्ने तयारी गरेको थियो । सोही तयारी अनुसार स्थानका मतदान केन्द्रमा ती स्यानिटाइजरहरू पठाइसकिएको थियो भने काठमाडौँकै कतिपय मतदान केन्द्रमा स्यानिटाइजर पुगिसकेको थियो । 

तर मंगलबार साँझ एकाएक निर्वाचन आयोगले आफ्नो सिस्टममार्फत् मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरूलाई एसएमस पठाएर आयोगले पठाएको स्यानिटाइजर प्रयोग नगर्न सूचित गर्दै स्यानिटाइजर आयोगमै फिर्ता पठाउन आग्रहसमेत गर्‍यो । निर्वाचनको मितिभन्दा ४ दिन अगाडि मात्रै पठाइएको उक्त एसएमएसमा स्यानिटाइजर प्राविधिक परीक्षणअनुसार उक्त स्यानिटाइजर योग्य नदेखिएको उल्लेख गरिएको थियो । 

कात्तिक ३० गते मात्रै औषधी व्यवस्था विभागले एक सूचना जारी गर्दै ग्लोबल हेल्थकेयर, कुञ्जपुरा, कर्नाल, भारतको उत्पादन रहेको जिएचसी ह्याण्ड स्यानिटाइजरमा विषाक्त मिथाइल अल्कोहलको मात्रा अत्यधिक पाइएको भन्दै उक्त स्यानिटाइजरको विक्री वितरण बन्द गर्न र बजारमा गइसकेको भए पनि फिर्ता लिन सूचित गरिएको थियो । विभागको सूचनामा उक्त कम्पनीको ब्याच नम्बरCARE-11-22-DEC, 2024, र उत्पादन मिति जनवरी २०२२ अर्थात् एक्सपायर मिति डिसेम्बर २०२४ रहेको ५०० एमएलको स्यानिटाइजरमा कैफियत पाइएको बताएको छ । जुन स्यानिटाइजर निर्वाचन आयोगले टेण्डर प्रक्रियाबाट खरिद गरेको थियो र मतदान केन्द्रहरूमा पठाएको थियो ।

निर्वाचन आयोगले कोभिड १९ तथा अन्य केही रोगहरुबाट बच्नमा मद्दत गर्न सक्छ भने प्रत्येक मतदान केन्द्रहरूमा १० थानका दरले पठाउने निर्णय गरेको थियो । सोही अनुसार दुर्गमका सबैजसो मतदान केन्द्रमा ती स्यानिटाइजर पुगिसकेको छ भने कतिपय स्थानमा पुग्ने प्रक्रियामै छ । तर मतदान केन्द्रहरूमा स्यानिटाइजरहरू पठाइसकेपछि निर्वाचन आयोगले प्रयोगशाला परीक्षणका लागि उक्त स्यानिटाइजर पठाएको थियो । मंगलबार परीक्षणबाट उक्त स्यानिटाइजरमा विषाक्त मिथाइल अल्कोहलको मात्रा अत्यधिक रहेको पाइएको थियो । त्यसलगत्तै आयोगले एसएमएस पठाएर उक्त स्यानिटाइजर प्रयोग नगर्न र नगराउन सूचित गरेको थियो । 

निर्वाचन आयोगले स्यानिटाइजर खरिद प्रक्रियासँग सम्बन्धित कागजात त सार्वजनिक गरेको छैन, यद्यपि मतदान केन्द्रमा पठाइसकिएको स्यानिटाइजर फिर्ता लिने सूचना पठाउनुले खरिद प्रक्रिया र वितरणमै गम्भीर त्रुटि भएको  संका छ । 

औषधी व्यवस्था विभागका अनुसार सिएचसी ह्याण्ड स्यानिटाइजरको ब्याच नम्बर CARE-11-22-DEC, 2024,  उत्पादन मिति जनवरी २०२२ र एक्सपायर मिति डिसेम्बर २०२४ रहेको ५०० एमएलको स्यानिटाइजरमा विभाग र विश्व स्वास्थ्य संगठनले तोकेको भन्दा फरक र स्वास्थ्यका लागि अति हानिकारक केमिकल फेला परेको हो ।

औषधी व्यवस्था विभागले तयार पारेको ‘इन्स्ट्याण्ट ह्याण्ड स्यानिटाइजर सम्बन्धी निर्देशिका, २०७६’ मा ह्याण्ड स्यानिटाइजरमा के केको मात्रा कति कति हुनुपर्ने भनेर उल्लेख गरेको छ । मापदण्ड अनुसार नेपालमा उत्पादन वा विक्री वितरण हुने ह्याण्ड स्यानिटाइजरमा इथाइल अल्कोहल वा आइसोप्रोपाइल अल्कोहलको मात्रा कम्तीमा ७० प्रतिशत हुनुपर्ने उल्लेख छ । त्यसबाहेक ग्लिसेरिन लगायतका अन्य तत्त्व पनि ह्याण्ड स्यानिटाइजरमा राख्नुपर्ने हुन्छ । ह्याण्ड स्यानिटाइजरको उत्पादन गर्दा मिथाइल अल्कोहल राख्न निषेध गरिएको छ । 

तर निर्वाचन आयोगले टेण्डर प्रक्रियाबाट खरिद गरेको ह्याण्ड स्यानिटाइजरमै विषाक्त मिथाइल अल्कोहलको मात्रा ६७ प्रतिशत पाइएको छ । कम्तीमा ७० प्रतिशत हुनुपर्ने इथाइल अल्कोहलको मात्रा भने मात्रै २ प्रतिशत पाइएको छ । 

औषधी व्यवस्था विभागका सूचना अधिकारी सन्तोष केसीका अनुसार ग्लोबल हेल्थ केयरले उत्पादन गरेको ह्याण्ड स्यानिटाइजरमा विषाक्त मिथाइल अल्कोहलको मात्रा ६७ प्रतिशत पाइएको थियो । त्यसपछि उक्त ह्याण्ड स्यानिटाइजरको प्रयोगमा प्रतिबन्ध लगाउँदै बजारमा विक्री वितरण भइसकेको भए तत्काल फिर्ता लिन कडा निर्देशन दिइएको हो ।

निर्वाचन आयोगले प्रक्रिया पूरा नगरी टेण्डर मार्फत लिएको ह्याण्ड स्यानिटाइजर विषाक्त रहेको पाइएपछि उक्त स्यानिटाइजर प्रयोगमा नल्याउन सूचित गरिसकेको छ । आयोगले टेण्डर प्रक्रिया पूरा गर्नेदेखि स्यानिटाइजरलाई विभिन्न जिल्लामा ढुवानी गर्ने प्रयोजनमा पनि लाखौं रकम खर्च गरिसकेको छ । 

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले स्यानिटाइजर वापतको रकम भुक्तानी नदिइएको बताएका छन् । 

स्यानिटाइजर पठाउन असम्भव

प्रवक्ता पौडेलले हाल टेण्डर गरी ल्याइएको स्यानिटाइजर विषाक्त रहेको पाइएपछि अर्को स्यानिटाइजर पठाउन सम्भव नरहेको बताए ।

२०७९ मंसिर १ १४:४५ बजे

प्रतिक्रिया