चीनले ताइवानमा आक्रमण गरे पुटिनको जस्तै गल्ती हुनेछ : अमेरिका

bimbonline बिम्ब अनलाइन
२०७९ मंसिर १ ११:१४ बजे
ताइवानमा आक्रमण

काठमाडौं । अमेरिकी सेनाका शीर्ष जनरल मार्क मिलेले चीनले ताइवानमाथि आक्रमण गरे त्यसको लागि रणनीतिक गल्ती हुने बताएका छन् ।​ मार्क मिलेले हाल अमेरिकी सेनाको सर्वोच्च पद, संयुक्त चिफ अफ स्टाफको अध्यक्षको जिम्मेवारी सम्हालिरहेका छन् ।

मिलेले चीनले ताइवानप्रति आक्रामकता देखाएको खण्डमा पुटिनको जस्तै गल्ती हुने बताएका छन् ।​ रुसी राष्ट्रपति पुटिनले यस वर्षको सुरुमा आफ्नो छिमेकी देश युक्रेनमा सैन्य आक्रमण सुरु गरेका थिए, जसलाई उनले विशेष सैन्य कारवाही भनेका थिए ।

यो युद्ध अहिलेसम्म चलिरहेको छ र निकट भविष्यमा पनि यो द्वन्द्वको समाधान देखिँदैन । यस युद्धका कारण रुसले ठूलो आर्थिक र भूराजनीतिक चुनौती सामना गरिरहेको छ ।​ मिलेले भने, ‘ताइवानमाथि आक्रमण र घेराबन्दी गर्नु निकै कठिन काम हो । ताइवानको अधिकांश भूभाग पहाडी छ । यो सैन्य अभियानको दृष्टिकोणले एक धेरै गाह्रो काम हो ।’

‘यस्तो अवस्थामा चिनियाँ पक्ष निकै जोखिमपूर्ण अवस्थामा हुनेछ । यसका साथै, यो चीनको लागि रणनीतिक र भूराजनीतिक गल्ती हुनेछ, जसरी पुटिनले युक्रेनमा गरेका छन् ।’

यससँगै मिलेले ताइवानमा जुन अवस्था छ, त्यसमा युक्रेन युद्धबाट पाठ लिएर ताइवानले आफ्नो बचाउ गर्नका लागि उत्कृष्ट ढंगले तयार गर्न सक्ने पनि बताएका छन् ।तर, मिलेले यो शताब्दीको मध्यसम्ममा चीन विश्वको सबैभन्दा ठूलो शक्ति बन्नेतर्फ अघि बढिरहेको बताए ।तर, उनले अहिले अमेरिकालाई विश्वको सबैभन्दा ठूलो शक्ति भनेका छन् ।

उनले भने, ‘जसले जति आलोचना गरे पनि अमेरिकी सेना अहिले विश्वकै सबैभन्दा खतरनाक सेना हो भन्नेमा कुनै शंका छैन । अमेरिकी सेना नम्बर एक छ, र हामी नम्बर एक रहन चाहन्छौँ ।’अमेरिका र चीनबीच भविष्यमा कुनै पनि द्वन्द्वको सवालमा मिलेले जबसम्म अमेरिकी सेना बलियो स्थितिमा रहिरहन्छ, तबसम्म यो अमेरिका र चीनबीचको शक्ति युद्धमा बाधाक बन्ने बताए । एजेन्सी 

२०७९ मंसिर १ ११:१४ बजे

प्रतिक्रिया