काठमाडौं । श्रम स्वीकृति लिँदा बिमा र कल्याणकारी कोषमा अनिवार्य तिर्न पर्ने रकम अब श्रमिकहरूले आफू रहेकै देशमा रहेको आफ्नो बैङ्क खातामार्फत तिर्न मिल्ने व्यवस्था मिलाइएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सह प्रवक्ता डा. थानेश्वर भुसालले बताएका छन् ।
यसअघि अनलाइनबाटै श्रम स्वीकृति लिन र रकम भुक्तानी पनि अनलाइनबाटै गर्न सकिने भए पनि विदेशमा रहेको आफ्नो खाताबाट तिर्न सकिने व्यवस्था भने रहेको थिएन । विदेशमै रहेर अनलाइनमार्फत श्रम स्वीकृति नवीकरण गर्दा बिमाको रकम र कल्याणकारी कोषमा जम्मा गर्नु पर्ने रकम भुक्तानीका लागि भने नेपालमा रहेका आफन्तकै सहारा चाहिने भएको छ ।
तर अब भने सम्बन्धित देशमा रहेको आफ्नो बैङ्क खातामार्फत नेपालमा रहेको वैदेशिक रोजगार बोर्ड र सम्बन्धित बिमा कम्पनीको खातामा सोझै पठाउन सकिने छ । आफ्नो श्रम स्वीकृतिको म्याद रहेरनरहेको जानकारी वैदेशिक रोजगार विभागको वेबसाइटमार्फत हेर्न सकिन्छ ।
श्रम स्वीकृति लिँदा बिमा र कल्याणकारी कोषमा रकम जम्मा गरेकै कारण रोजगारीको सिलसिलामा श्रमिकलाई कुनै समस्या भएमा, बिरामी भएमा, अङ्गभङ्ग भएमा वा ज्यानै गएमा बिमा र वैदेशिक रोजगार बोर्डमार्फत रकम पाइन्छ ।
प्रतिक्रिया