पञ्जाबमा डेरा सच्चा सौदाका समर्थकको गोली हानी हत्या

bimbonline बिम्ब अनलाइन
२०७९ कात्तिक २४ १२:४६ बजे
हत्या

काठमाडौं । पञ्जाबको फरीदकोटमा डेरा सच्चा सौदाका अनुयायी प्रदीप सिंहलाई सार्वजनिक रूपमा गोली हानेको घटना बाहिर आएको छ । गोली हानेको यो घटना सीसीटीभीमा कैद भएको छ ।

फरीदकोट जिल्लाको कोटकपुरा सहरमा भएको यो घटनामा सुरक्षाकर्मी प्रदीप सिंह पनि घाइते भएका छन् । बिहिबार बिहान प्रदीप सिंह पसल खोल्न जाँदा यो घटना भएको हो । त्यतिबेला मोटरसाइकलमा आएका आक्रमणकारीले उनीमाथि गोली प्रहार गरेका थिए ।

प्रदीप सिंह बरगाडी बेअदबी हत्याकाण्डका पनि अभियुक्त थिए । उनी २०२१ देखि जमानतमा छुटेका थिए र उनले सुरक्षा पाएका थिए ।

यस घटनापछि पञ्जाबका मुख्यमन्त्री भगवन्त मानले भने,‘पञ्जाब एक शान्तिपूर्ण राज्य हो जहाँ जनताबीच बलियो भाइचारा छ । पञ्जाबको शान्ति भंग गर्न कसैलाई पनि अनुमति दिइने छैन । राज्यमा शान्ति सुरक्षा कायम गर्न प्रहरी अधिकारीलाई कडा निर्देशन दिइएको छ ।’

यो घटनापछि कोटकापुराका विधायक तथा विधानसभा अध्यक्ष कुलतार सिंह संधवान अस्पताल पुगेका थिए । फरीदकोट रेन्जका आईजी प्रदीप यादवले यस विषयमा प्रहरीले अनुसन्धान गरिरहेको बताए । उनले भने, ‘प्रदीप सिंहका सुरक्षाकर्मीले जवाफी कारवाही गरेका थिए । यस घटनामा तीन जना घाइते भएका छन् । हामीले सीसीटीभी हेरेका छौँ र केही सुरागहरू पाएका छौँ । स्थिति नियन्त्रणमा छ । सुरुमा प्रदीप सिंहका सुरक्षाकर्मीको लापरवाही देखिएको छ । प्रहरी वरिष्ठ अधिकारीको विशेष टोलीले घटनाको सबै पक्षमा अनुसन्धान गरिरहेको छ ।’

बरगाडी बेअदबी हत्याकाण्डपछि अहिलेसम्म डेरा सच्चा सौदाका सातौं समर्थकको मृत्यु भएको छ । एजेन्सी 

२०७९ कात्तिक २४ १२:४६ बजे

प्रतिक्रिया