काठमाडौं । डोटीमा भूकम्पका कारण ६ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्।
भूकम्पका कारण पूर्वीचौकी गाउँपालिकाका भौतिक संरचना भत्किँदा ६ जनाको मृत्यु भएको र ५ जना घाइते भएको डोटीका प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले जानकारी दिइन्।
भूकम्पका कारण घर भत्किँदा घाइते भएकाहरूको उद्धार गरी अस्पताल पुर्याउन लागिएको बताइएको छ।"घाइतेको अवस्था हेरी हेलिकोप्टरमार्फत उद्धार गरी सुविधा सम्पन्न अस्पताल पठाउने तयारी गरिरहेका छौँ," श्रेष्ठले बताइन्।
पूर्वीचौकी गाउँपालिका केन्द्रबाट ३ घण्टा पैदल दूरीमा रहेको गौरागाउँमा भूकम्पका कारण केही घरहरू भत्किएका छन्।
डोटीका अन्य क्षेत्रमा पनि भौतिक संरचनामा असर परेको भएपनि मानवीय क्षतिको भने विवरण प्राप्त नभएको प्रमुख जिल्ला अधिकारीले जानकारी दिइन्।
डोटीमा मङ्गलवार साँझ पनि ५.७ र ४.१ म्याग्निच्युडका भूकम्प गएका थिए। भूकम्पको धक्का कर्णाली र लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा पनि महसुस गरिएको बताइएको छ।
प्रतिक्रिया