काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड-१९ को संक्रमण कायम रहेकाले निर्वाचनकेन्द्रित गतिविधिमा सावधानी अपनाउन आग्रह गरेको छ।मन्त्रालयले कोभिड-१९ को संक्रमण कायम रहेकाले संक्रमणबाट बच्न भीडभाड कम गर्न र जनस्वास्थ्यका मापदण्ड अपनाउन आग्रह छ । मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहायक प्रवक्ता डा. समीरकुमार अधिकारीले निर्वाचन केन्द्रित कार्यक्रमहरूमा भीडभाड गर्दा कोभिड- १९ को संक्रमण दर बढ्नसक्ने बताए ।
उनले भीडभाड बढी हुँदा अन्य प्रकारका संक्रामक रोगहरू पनि एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने भएकाले त्यसमा पनि सावधानी आवश्यक रहेको बताए् । अधिकारीले कोभिड- १९ विरुद्धको खोप नलगाएका व्यक्तिहरूलाई भीडभाड हुने ठाउँमा नजान पनि आग्रह गरे।
कोभिड १९ को महामारी हामीले भोगेको अवस्था र हामीसँग संक्रमण अहिले पनि रहिराखेको अवस्था छ, विश्वका विभिन्न ठाउँहरूमा नयाँ भेरियन्टहरू देखिराख्ने अवस्था सबै अवस्थालाई हेर्दाखेरी हाम्रो भीडभाड हुने गतिविधिहरूलाई हामीले एकदमै सावधानीका साथ अगाडी लिएर जानुपर्छ, डा. अधिकारीले भने ।
उनले भने , ‘जनस्वास्थ्यका मापदण्डहरू पालना गर्नसक्ने, ख्याल गर्न सकिने ठाउँहरूमा विशेष रुपमा ख्याल गर्नुपर्ने हुन्छ। कोभिडको कुरा मात्रै भएन, अरु किसिमका संक्रमण पनि कसैलाई छन् भने, रुघाखोकी पनि कसैलाई छन् भने थप धेरै मानिसहरूलाई हुनसक्छ। कोभिड-१९ विरुद्धको खोप नलगाएका व्यक्तिहरू सकेसम्म त्यसरी ननिस्किने। खोप अनिवार्य रुपमा लगाउने। पूर्ण मात्रा लगाइसकेको तीन महिना कटिसकेको छ भने त्यस्ता व्यक्तिहरूले समयमै एक अतिरिक्त मात्रा बुस्टर मात्राको रुपमा लगाउनुपर्ने हुन्छ।
कोभिडका हिसाबले देशमा अहिले सहज अवस्था रहेको बताउँदै भने जोखिमपूर्ण भेरियन्ट आउनसक्ने सम्भावनाका कारण सावधानी अपनाउनुपर्ने छ । अधिकारीले देशमा अहिले ६ सयको हाराहारीमा कोभिड-१९ का संक्रमितहरू रहेको बताए।
मन्त्रालयका सहायक प्रवक्ता डा.अधिकारीका अनुसार अहिलेसम्म ६ करोड भन्दा बढी मात्रा खोप नेपालले प्राप्त गरेको छ। जसमध्ये साढे ५ करोड मात्रा खोप लगाइ सकिएको तथ्यांक छ। उनले खोप लगाउने लक्षित जनसंख्या २ करोड ३३ लाख भन्दा बढी रहेकोमा त्यसमध्ये शतप्रतिशतले एक मात्रा खोप लगाएको र ९६ प्रतिशतले पूर्ण मात्रा खोप लगाइसकेको बताए। उनले ८० लाख बुस्टर मात्राको प्रयोग भएको पनि बताए। उनले कोभिड(१९ विरुद्धको खोप सरकारसँग बाँकी रहेको पनि जानकारी दिए।
प्रतिक्रिया