भारत: देशको पहिलो मतदाता भनेर चिनिने व्यक्तिको निधन

bimbonline बिम्ब अनलाइन
२०७९ कात्तिक २० १२:१२ बजे
पहिलो मतदाता

काठमाडौं । भारतको पहिलो मतदाताु भनेर चिनिने व्यक्तिको १०५ वर्षको उमेरमा निधन भएको छ। श्याम शरण नेगीलाई बेलायती शासनबाट स्वतन्त्र भएपछि भारतमा भएको पहिलो आम निर्वाचनमा मतदान गर्ने पहिलो व्यक्ति मानिन्छ। नेगीले त्यसयता हरेक चुनावमा मतदान गरेका छन्।

नेगीको स्वागत

एक शताब्दीभन्दा लामो समय बाँचेका यी व्यक्तिले शनिवार आफ्नो मृत्यु हुनुभन्दा तीन दिनअघि आफ्नो राज्य हिमाचल प्रदेशको विधानसभा चुनावमा मतदान गरेका थिए।यी सेवानिवृत्त शिक्षकलाई स्वतन्त्र भारतमा मतदान गर्ने पहिलो व्यक्ति मानिन्छ किनकि सम्बन्धित राज्यले त्यस समय भारी हिमपातबाट जोगिन सन् १९५२ को चुनावको लागि सन् १९५१ मै अर्थात् तोकिएको समयभन्दा पाँच महिना अघि नै मतदान केन्द्रहरू खोलेको थियो।

त्यति बेलाको मत परिणाम भारतीय राष्ट्रिय काङ्ग्रेसको पक्षमा थियो र त्यो दलका निम्ति ठुलो जीत थियो। सन् १८४८ देखि १९४७ सम्म ब्रिटिश औपनिवेशिक शासनको लगभग एक सय वर्ष पछि जवाहरलाल नेहरु भारतको पहिलो लोकतान्त्रिक रूपमा निर्वाचित प्रधानमन्त्री बनेका थिए।

यसै साताको सुरुवातमा नोभेम्बर १२ मा हुने चुनावका लागि उनले हुलाक मतदान गर्न जाँदा निर्वाचन आयोगका अधिकारीहरूले रातो कार्पेट बिछ्याएर नेगीको स्वागत गरेका थिए।

भारतीय सञ्चारमाध्यमहरूका अनुसार नेगीले अस्वस्थताका कारण मतदान केन्द्रमा नगई आफ्नो मतपत्र पठाउने निर्णय गरेको यो पहिलो पटक हो।सन् २०१४ मा मतदान प्रोत्साहित गर्ने उद्देश्यका साथ नेगीलाई निर्वाचन आयोगको ब्रान्ड एम्बासेडर बनाइएको थियो र त्यस वर्षको आम चुनावमा मानिसहरूलाई मतदान गर्न प्रोत्साहित गर्ने गुगल भिडिओमा समेत अभिनय गराइएको थियो।

भारतको द ट्रिब्युट पत्रिकाले जनाए अनुसार नेगीले बुधवार आफ्नो मतपत्र पठाउँदै गर्दा युवाहरूलाई मतदान गर्न आग्रह गरेका थिए।

'निर्वाचनमा आफ्नो मताधिकार प्रयोग गरी सहभागी हुनु हाम्रो अधिकार मात्र नभएर कर्तव्य पनि हो। र, यस लोकतान्त्रिक प्रक्रियामा सहभागी हुन युवाहरू अगाडि आउनु पर्छ', उनले भनेका थिए।

शनिवार एक चुनावी र्‍यालीमा बोल्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेगीप्रति श्रद्धाञ्जली व्यक्त गरे। काल्पास्थित गाउँमा पूर्ण राजकीय सम्मानका साथ उनको अन्त्येष्टि गरिने सरकारी अधिकारीहरूले बताएका छन्। बीबीसी

२०७९ कात्तिक २० १२:१२ बजे

प्रतिक्रिया