चिकित्सकको लापरबाहीले बिरामीको मृत्यु भएको भन्दै केएमसी विरुद्ध आन्दोलनमा उत्रिएका मृतकका परिवार

bimbonline बिम्ब अनलाइन
२०७९ कात्तिक १९ १३:०९ बजे
केएमसी विरुद्ध आन्दोलन

काठमाडौं । चिकित्सकको लापरबाहीले बिरामीको मृत्यु भएको भन्दै विगत केही दिनदेखि काठमाडौँ मेडिकल कलेज (केएमसी)विरुद्ध आन्दोलनमा उत्रिएका मृतकका परिवार र संघर्ष समितिले धर्ना दिएका छन्। काठमाडौँ महानगरपालिका–९ ओमनगर निवासी ४८ वर्षीय शैलेन्द्र विद्याधरको गत असोज ३० गते उपचारको क्रममा मृत्यु भएपछि मृतकका परिवार र आफन्त  आनदोलन उत्रीएका हुन् । 

मृतककी श्रीमती सुशीला विद्याधरसहित संघर्ष समितिको टोलीले आज अस्पताल वरपर नाराबाजीसहित प्रदर्शन गरेको हो । सो क्रममा उनीहरूले ‘सरकार पीडितलाई न्याय देऊ’, ‘लाइसेन्स लिएर मान्छे मार्न पाइँदैन’,‘केएमसी प्रशासन मुर्दावाद’, ‘हत्यारा डाक्टर मुर्दावाद’, लगायतका नारा लगाएका थिए । डाक्टरले ब्रेन ट्युमरको अप्रेसनका क्रममा टाउकोको नशा काटेका कारण बिरामीको ज्यान गएको भन्दै आक्रोशित मृतकका आफन्तले उचित क्षतिपूर्ति र न्युरो अस्पतालमा लागेको उपचारको खर्च व्यहोर्नुपर्ने माग गरेको छ ।

अस्पताल चासो नदेखाएको संघर्ष समितिका संयोजक इन्द्रबहादुर श्रेष्ठले बताए । उनले आज पनि अस्पतालले पीडितका मागहरू सम्बोधन नगरेमा आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार घेराउ गर्ने चेतावनी दिएका छन् । 

२०७९ कात्तिक १९ १३:०९ बजे

प्रतिक्रिया