कालीकोटमा बम विष्फोट हुँदा एकको मृत्यु, चार जना गम्भीर घाइते

bimbonline बिम्ब अनलाइन
२०७९ कात्तिक १२ १२:५५ बजे
बम विष्फोट

काठमाडौं । कालिकोटमा बम विस्फोट हुँदा एक जनाको मृत्यु भएको छ  । विस्फोटमा परी अन्य  चार जना गम्भीर घाइते भएका छन्। तिलागुफा नगरपालिका-१० रानावाडामा विस्फोट हुँदा ४ वर्षीया झरना थापाको मृत्यु भएको  हो ।

घटनामा सोही ठाउँका ७ वर्षीय कमल थापा, ५ वर्षका मुस्कान थापा, ३ वर्षकी सपना थापा तथा ४ वर्षकी सरस्वती राना गम्भीर घाइते भएका प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले  बताएका छन् । 

गृहमन्त्री बालकृष्ण खाणले कालीकोटको  विष्फोटनमा परी गम्भीर घाइते भएकाको उद्धार तथा उपचारमा कुनै कमी हुन नदिन गृह प्रशासनलाई निर्देशन दिएका छन्। गृहमन्त्री खाणको निर्देशनपछि नेपाली सेनाको हेलिकप्टर कालिकोट पुगेर घाइतेको उद्धार गरी सुर्खेत पठाइएको प्रमुख जिल्ला अधिकारी शर्माले  बताएका छन् ।  

घटना आज बिहान ८ बजेको हो। बच्चा खेल्न जाने क्रममा उनीहरूले नयाँ कुरा देखेर ढुङ्गा हान्दा बम विष्फोट भएको प्रजिअ शर्माले बताएका छन्। कुन बम भन्ने नखुलेको र प्रहरी तथा सेनाले अनुसन्धान थालेको उनले बताएका छन् । नेपाली सेनाको हेलिकप्टर कालीकोट पुगेर घाइते भएका बालबालिकाको थप उपचारका लागि सुर्खेत लगिएको प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले  बताएका छन् ।   

प्रहरीले घटना विषयमा अनुसन्धान भइरहेको जनाएको छ। स्थानीय प्रेमबहादुर शाहीका अनुसार गाई चराउन गएका बालबालिकाले ओढारमा भेट्टाएको वस्तु खेलाउँदा सो विष्फोट भएको बताए।

२०७९ कात्तिक १२ १२:५५ बजे

प्रतिक्रिया