लद्दाखमा भएको झडपपछि चीनसँग चिसिएको सम्बन्ध सुधार्ने भारतको प्रयास

bimbonline एजेन्सी
२०७९ कात्तिक १० ०८:५९ बजे
भारत

काठमाडौं । भारतले लद्दाखमा भएको झडपपछि चीनसँग चिसिएको सम्बन्धलाई सुधार्ने प्रयास गरेको छ । नयाँ दिल्लीले चीनसँगको सम्बन्ध पुनः सुमधुर तुल्याउने चाहना व्यक्त गरेको हो ।

भारतीय विदेशमन्त्री सुव्रमण्यम जयशङ्करले आफ्नो चारवर्षे कार्यकाल पूरा गरेर बेइजिङ फर्कन लागेका चिनियाँ राजदूत सुन वेइडोङसँगको बिदाइ भेटपछि सामाजिक सञ्जालमा चीनलाई चिढ्याउने साउथ ब्लकको चाहना नभएको आशय सार्वजनिक रुपमा व्यक्त गर्नुभएको छ ।

चीन–भारत सीमा क्षेत्रमा शान्ति कायम गर्न तथा शान्तिपूर्ण द्विपक्षीय सम्बन्धलाई कायम राख्न अपरिहार्य रहेको र यसले दुई देश मात्र नभइ एशिया तथा समग्र विश्वको हितमा रहेको विदेशमन्त्री जयशङ्करले उल्लेख गर्नुभएको छ ।

चिनियाँ राजदूत सुनले भारत र चीनबीचका मतभेद समाधान गर्दै एक–अर्काको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने सिद्धान्तलाई कायम राख्नुपर्नेमा जोड दिनुभएको नयाँ दिल्लीस्थित चिनियाँ दूतावासले सार्वजनिक गरेको बिदाइ मन्तव्यमा उल्लेख छ । 

२०७९ कात्तिक १० ०८:५९ बजे

प्रतिक्रिया